जनकपुरधाम,जनकपुरधाममा यही मङ्सिर १६ गतेबाट शुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाको अध्यक्षतामा आइतवार समन्वय बैठक सम्पन्न भएको छ ।
विवाह पञ्चमीमा सहभागी हुनका लागि आउने लाखौँ तीर्थयात्रीहरूको सुरक्षाका लागि नेपाल प्रहरीले १ हजार ४ सय प्रहरी परिचालन गर्नुका साथै पाकेटमारा सहितका अपराध रोक्नका लागि तालिम प्राप्त सदा पोसाकका प्रहरी परिचालन गर्ने धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
यसैगरी सीमानादेखि मेलासम्म शान्ति सुरक्षा, भन्सार सुरक्षासहितको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर मेलामा ७ सय ५ जना सशस्त्र प्रहरी परिचालन गर्नुका साथै अत्यधिक भिड हुने ठाउँमा ड्रोनको साहायताले सुरक्षा निगरानी गर्ने तयारी गरिएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो ।मेलामा आउने सवारी साधन तथा भिडलाई व्यवस्थापन गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले १ सय ४० ट्राफिक प्रहरी परिचालन गर्ने र मेलामा आउने सवारी साधन तथा हल्का सवारी साधनको पार्किङ स्थलको विषयमा ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरि ओलीले जानकारी दिँदै भिभिआइपीका लागि विशेष मार्ग छुट्याउने तयारी गरिएको जानकारी दिनुभयो ।

















