निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ मा मंगलवार बिहान स्कुल बसले किचेरे एक जना बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ ।
बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाई घर भइ छोराछोरीलाई पढाउन भनेर निजगढ ६ स्थित शान्ति टोलमा डेरा गरी बस्दै आएका राकेश राय यादवकी २ बर्षिय छोरी आइसालाई विद्यासागर बोडिङ्ग स्कुलको प्र–२(०३–००१ क १०७३ नम्बरको बसले किच्दा बिहान ९.३० बजे घटनास्थलमा नै मृत्यु भएको हो ।
आफ्ना २ दिदीहरुलाई विद्यालय पठाउने क्रममा स्कुल बस चढाउन भनेर गएकी आमाको पछि लागेर पुगेकी आइसालाई सोही बसले किचेको थियो । विद्यार्थीहरुलाई चढाएपछि बस अघि बढाउने क्रममा बसको पछाडि पट्टीको चक्काले बालिकालाई किचेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । बस चालक रामबहादुर कार्की र आमाले पनि बालिकालाई नदेखेका कारण घटना भएको प्रहरी निरीक्षक सन्जिव ओलीले जानकारी दिनुभयो । प्रहरीले बस र चालक निजगढ नगरपालिका वडा नम्बर ९ का रामबहादुर कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ ।