निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ शहिद चोकस्थित नित्यम ट्रेडर्सको सर्भिसिङ्ग सेन्टरमा शुक्रवार साँझ आगलागी हुँदा करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको छ ।व्यवसायी रामचन्द्र जैसवालले संचालन गरेको सर्भिसिङ्ग सेन्टरको गोदाममा साँझ ६.१५ बजे भएको आगलागी गोदाममा रहेका मोटरपार्टस, टायर, मेसिनरी सामानहरु, मोबिल, ल्यापटप, कम्प्युटर, फर्निचर, कार्यालयको कागजपत्रलगायत सबै सामानहरु जलेर नष्ट भएकाछन ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण प्राप्त भइनसकेको भएपनि करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । उहाँले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको पनि जानकारी दिनुभयो । साँझ करिव ७.३० बजेबाट शुरु भएको सो आगलागी निजगढ र कोल्हबी नगरपालिकाको दमकल, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस क्याम्प निजगढ र इलाका प्रहरी कार्यालय निजगढका सुरक्षाकर्मी र स्थानीयबासिन्दाको सहयोगमा राति ७.३० बजे नियन्त्रणमा लिइएको थियो ।आगो नियन्त्रणको लागि कलैया उपमहानगरपालिकाको दमकलसमेत आइपुगेको थियो । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।

Leave a Reply