निजगढ,नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको तेस्रो मधेस प्रदेश सम्मेलन भोलि शुक्रवार निजगढमा हुनेभएको छ ।
सम्मेलनको पूर्वसन्ध्यामा सङ्गठनले निजगढमा बिहीवार गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एंव सङ्गठनका मधेस प्रदेश इन्चार्ज किशोर साहले सम्मेलनको सबै तयारी पुरा भएको जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य साहले नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले आफ्नो स्थापना कालदेखि नै देशभरिका प्राध्यापक र न्यायप्रेमी जनताको पक्षमा आवाज उठाउदै आएको र नेपाली जनताले संचालन गरेको राजनीतिक हक र अधिकारको लडाइमा अग्रपङ्क्तिमा उभिएको बताउनुभयो ।

देशभरिका प्राध्यापकहरुको आशा र भरोसाको केन्द्रको रुपमा संगठनको रुपमा संगठनमा आवद्ध स्थायी, करार, आंशिक प्राध्यापकहरुको हक, हित, अधिकार, रोजगारी, स्थायित्व, व्यक्तित्व विकास र प्राज्ञिक उन्नयनको लािग भूमिका खेल्दै आएको पनि जानकारी दिनुभयो ।नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन नेकपा एमाले निकट प्राध्यापकहरुको सङ्गठन हो ।सम्मेलनमा मधेस प्रदेशका त्रिविविका आङ्गिक ९, राजर्षि जनक विश्वविद्यालयको १, संस्कृत विश्वविद्यालयको २ र त्रिविविबाट सम्बन्धन प्राप्त ४५ वटा सामुदायिक क्याम्पसका गरी करिव ९० जना प्रतिनिधि प्राध्यापकहरुको सहभागिता रहने सो अवसरमा जानकारी दिइएको थियो ।सम्मेलनले आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको चयन चयन गर्नेछ ।सम्मेलनको प्रमुख अतिथि पूर्वमन्त्री एंव नेकपा एमाले पोलिटब्युरो सदस्य ज्वाला साहले बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सम्मेलनमा सङ्गठनका केन्द्रीय अध्यक्ष पद्म खतिवडालगायत पदाधिकारीहरु पनि सहभागी हुनेछन । सम्मेलनका अधिकांश प्रतिनिधि र अतिथिहरु निजगढ आइपुगिसकेको पनि सो अवसरमा जानकारी गराइएको थियो ।
निजगढको होटल राजमार्गमा भएको पत्रकार सम्मेलनमा सङ्गठनका वरिष्ठ उपाध्यक्ष मनोज बिष्ट, उपाध्यक्ष होम बस्नेत, पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्य एकबहादुर श्रेष्ठ, संगठनका सदस्य गोविन्द अधिकारीलगायतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण प्रदेश समिति सदस्य एंव गौरीशंकर क्याम्पस निजगढका प्राध्यापक सागर दाहालले गर्नुभएको थियो ।

Leave a Reply