पुष्पराज खतिवडा

मनहर्वा,प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तरुढ गठबन्धनका शीर्ष नेताहरुले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्र टाँगियावस्तिको शनिवार निरीक्षण गरेका छन ।

गत जेष्ठ १२ गते निजगढ विमानस्थल बनाउन रोक लगाएको सर्वोच्चले असार १५ गतेमा पूर्णपाठ सार्वजनिक गर्दै जैविक विविधताको न्यूनतम क्षति हुने गरी सरकारले विमानस्थल निर्माण गर्न सक्ने भनेपछि प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका नेताहरुले पहिलो पटक प्रस्तावित विमानस्थल निर्माण क्षेत्रको हवाइ अवलोकन गरेका हुन ।

प्रधानमन्त्री देउवासहित, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले निजगढ विमानस्थलको प्रस्तावित क्षेत्र टाँगियावस्तिको निरीक्षण गर्नुभएको हो । टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरण मन्त्री रामसहाय यादव, खानेपानी मन्त्री उमाकान्त चौधरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ पनि सहभागी हुनुभएको थियो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान १०ः३० मा निजगढ आइपुगेको प्रधानमन्त्री देउवासहितको टोलीले करिव २० मिनेटसम्म टाँगियावस्तिको हवाइ निरीक्षण गरेको थियो । निरीक्षणको क्रममा टोलीले टाँगियावस्ति, काटँघाट वस्ति र आसपासको वन क्षेत्रको पनि अवलोकन गरेको हो ।

विमानस्थल निर्माण क्षेत्रको निरीक्षणपछि निजगढमा रहेको नेपाली सेनाको फास्टट्याक (काठमाण्डौं तराई÷मधेस दु्रतमार्ग) विकास निर्माण दल जिरो किमीमा सरोकारवाला कार्यालयका प्रमुख र बाराका स्थानीय निकायका प्रमुखहरुसंग भेट गरेर प्रधानमन्त्री देउवा र शीर्ष नेताहरुले भ्रमणको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको पूर्णपाठमा पनि निजगढ विमानस्थल निर्माण नगर्नु नभनेकोले निजगढमा नै अन्तर्राष्ट्रि स्तरको सुविधा सम्पन्न विमानस्थल बनाइने बताउनुभयो । विमानस्थल र फास्टट्याक एकअर्काका पुरक आयोजना भएकोले पनि विमानस्थल निर्माण गरिनु पर्ने उहाँको भनाइ थियो । ‘हामीले फास्टट्याक किन बनाएको, प्रधानमन्त्री देउवाले भन्न्ुभयो, एयरपोर्टको लागि बनाएको हो ।’ एयरपोर्टमा ओर्लेका मानिसहरुलाई काठमाण्डौं लैजान फास्टट्याक निर्माण गरिएको हो,’ उहाँले भन्नु्भयो, एयरपोर्ट बनेन भने फास्टट्याकको पनि काम छैन ।’

प्रधानमन्त्री देउवाले देशमा ४ लेन धावन मार्गको विमानस्थल आवश्यक भएपनि तत्कालको लागि निजगढमा २ लेन धावन मार्गसहितको विमानस्थल बनाइने बताउनुभयो । उहाँले काठमाण्डौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ ट्राफिक जाम हुने समस्याले गर्दा भारतको दिल्ली र बंगलादेशको ढाकामा डाइभर्ट गर्नु पर्ने अवस्था रहेको हुँदा कुनै पनि हालतमा निजगढमा विमानस्थल निर्माण गरिनु पर्ने बताउनुभयो ।

त्यस्तै पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पनि निजगढ विमानस्थल र फास्टट्याकको सम्बन्ध रहेको बताउनुभयो । ‘निजगढ विमानस्थल निर्माण हुन सकेन भने अर्बौै लगानी गरेर फास्टट्याक निर्माण गर्नुको औचित्य छैन, उहाँले भन्नुभयो, फास्टट्याकको डिपिआर बनाउदा नै निजगढ विमानस्थलको आवश्यकतालाई मनन गरेर तयार पारिएको हो ।’ पहिले पनि धेरै अध्ययन छलफल गरेर निजगढ सबैभन्दा उपयुक्त क्षेत्रको रुपमा छनौट भएको भन्दै अध्यक्ष प्रचण्डले करिव ३ अरब लगानी भइसकेको देशको गौरवको आयोजनाको रुपमा रहेको विमानस्थललाई सरकारले दृढताका साथ अघि बढाउने जरुरी भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सर्वोच्च अदालतको पूर्णपाठमा देशमा अन्तर्राष्ट्रिस्तरको सुविधा सम्पन्न विमानस्थल निर्माण गर्न जरुरी रहेको ठहर गरिएको जानकारी दिनुभयो । उहाँले अदालतले कस्तो र कतिवटा विमानस्थल निर्माण गर्ने भन्ने कुराको निक्र्यौल गर्ने जिम्मा कार्यपालिकालाई दिएको भन्दै अब सरकारले ढिला नगरी निजगढ विमानस्थल निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले अदालतले निजगढमा एयरपोर्ट सिटी बनाउने कुरामा रोक लगाएको तर विमानस्थल निर्माणमा रोक नलगाएको पनि जानकारी दिनुभयो । ‘सर्वोच्च अदालतको पूर्णपाठमा वातावरणीय क्षति कम होस भन्ने चासो देखिएको छ, नेता नेपालले भन्नुभयो, अदालतको फैसलालाई ध्यानमा राखेर वन जंगलको कमभन्दा कम क्षति हुने गरी निजगढमा नै विमानस्थल बनाउनुपर्छ ।’

गठबन्धनका अर्का नेता उपेन्द्र यादवले राष्ट्रिय आवश्यकता पूरा गर्न निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक भएको हुँदा गफ मात्रै नगरेर काम पनि अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले विमानस्थल निर्माण क्षेत्रमा पर्ने वस्तिहरुको व्यवस्थित स्थानान्तरणमा ध्यान दिनुपर्ने पनि बताउनुभयो । ‘यस क्षेत्रमा रहेका पुराना वस्तिका जनताले घरबारबिहिन हुनु नपरोस, उहाँले भन्नुभयो, बाढी पिडितलाई राहत बाढेँ जस्तो नहोस ।’ विकास निर्माणका आयोजना संचालन गर्दा जैविक विविधता संरक्षणलाई पनि ध्यान दिनुपर्ने र न्युनतम रुख फडानी हुने गरी विमानस्थल निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले आयोजना निर्माण हुँदा काटिएका रुखको बदलामा सोभन्दा बढी वृक्षारोपण गरिनुपर्ने पनि बताउनुभयो । नेता यादवले भन्नुभयो, निजगढ विमानस्थलमा पनि जैविक विविधता नोक्सनीलाई न्यूनीकरण हुने गरि काम गरौं ।’

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षले पौडेलले निजगढ विमानस्थल निर्माण गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिइसकेको बताउँदै आवश्यक कानुनी र अन्य प्रकृया पुरा गरेर चाढै विमानस्थल निर्माण कार्य सुरु गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी र निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले विमानस्थल निर्माणको काम चाढै सुरु गर्न माग गर्दै प्रधानमन्त्री देउवालाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाउनुभएको छ । ज्ञापन पत्रमा अदालतको पछिल्लो फैसलापछि विमानस्थल निर्माण सम्बन्धि जटिलता अन्त्य भएको र निर्माण कार्यको जिम्मा सरकारको काँधमा आएको भन्दै जतिसक्दो चाढो निर्माण कार्य सुरु गर्न सरकारसंग माग गरिएको छ । निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीले बझाउनु भएको पत्रमा लामो समयको अन्यौलतापछि सर्वोच्च अदालतको मिति २०७९।०३।१५ गते सार्वजनिक भएको पूर्णपाठले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ढोका खुलेको महशुस भएको विमानस्थल निर्माण गर्ने बारेमा सर्वौच्चको फैसलामा अझै केही अन्यौलता कायम रहेको र यस्तो अवस्थामा सर्वोच्चको आदेश अनुसार निजगढ विमानस्थल निर्माण गर्न तपाईको नेतृत्वमा रहेको सरकारले थप पहलकदमी गरोस् भन्ने अनुरोध छु भनिएको छ ।

Leave a Reply