पुष्पराज खतिवडा
शनिवार अर्थात मंसिर ८ गते राती म जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वास्थित आफ्नै घरको कोठामा बसेर कम्युटरमा एउटा विषयमा समाचार लेखिरहेको थिएँ ।श्रीमती सुष्मा जी बाहिर कोठामा मुल गेट बन्द गरेर टेलिभिजन हेरिरहेकी थिइन् । बालबच्चा बुवा निदाईसक्नु भएको थियो । समय ठीक सवा ९ बजेको थियो । हामी आफ्नै धुनमा व्यस्त थियौं । ढोका बाहिरबाट ढोका खोल्नु त भन्दै ढ्याक ढ्याक गरेको आवाज आयो । भित्र मैले पनि सुनिरहेको थिंए । श्रीमतीले कसैले बोलाएको भन्दै आउन आग्रह गरिन् । उनलाई ढोका खोल्ने आँट पक्कै भएन छ ।
म नै अघि सरें उनी मेरोपछिपछि आइन् । ढोका खोलर म बाहिर निस्किएँ । अगाडि दुईजना मधेसीमूलका मानिस थिए । मैले को हो भन्दै गर्दा उनीहरुले एकै स्वरमा हाम्रो मयूरी (ई रिक्सा) को चार्ज सकियो । चार्ज गर्ने ठाउँ दिनु पर्यो भने । मैले ठाउँ देखाइदिएँ । सोही क्रममा दुईमध्यका एकजना पाका मान्छेले आफु फलफुल ब्यापारी भएको । र घर वीरगञ्ज, परवानीपुर, लालबन्दी र ढल्केबरमा समेत घर रहेको बताए । उनले दुईवटा यात्रु बस रहेको, फलफूलका मण्डी रहेको सुनाए । कुरा सुन्दा मयूरी पनि उनकै थियो होला भन्ने लाग्यो । बालबच्चाले भरतताल लैजान कर गरेकोले आज उतै गएर आएका हौं भने । गाडीमा चार्च नहुने समस्याले दुःख पायौं पनि भने । उनी धनी गरिब जे वा जो भएपनि रातीको समयमा असमस्यामा परेर सहयोग माग्दा सकेको सहयोग गर्नु कर्तव्य हो भन्ने लागेर हुन्छ नि त चार्ज गरौं भन्दिए ।
कलैया पिलुवा सडकमा रोकिराखिएको मयूरी चार्जका लागि चालकले मेरो घरमा ल्याए । मयूरीमा ३, ४ वर्षका बालबालिका सहित अन्य तीन जना महिला पनि बसेका थिए । साँडे ९ बजे मयूरीमा जंगलको बाटो बालबालिका महिला लिएर किन हिन्नु भएको भन्ने प्रश्न पनि गरेँ ।ती पाका देखिएका स्वोघोषित धन्याड्यले मयूरी ठाउँठाउँमा चार्ज गर्दै आउँनुपर्दा अबेला भएको सुनाए । भरत तालमा खाजा खाएर ५ चैं बजे हिनेको, बाग्मतीमा धेरै बेर चार्ज गरियो । राम्रोसँग चार्च नै भएन, उनले सुनाए । खाना भयो त मैले सोधें । उनले भने छैन ५ बजे त खाजा खाएकोे हो, उनले भने । त्यतिबेलासम्म साँडे ९ बजिसकेको थियो ।
त्यतिबेलासम्ममा मयूरी चार्जका लागि आइसकेको थियो । विद्युत प्लकमा जोड्ने तरखर हुँदै थियो । दुर्भाग्य त्यतिनै बेला लाईन गयो । अघिल्ला दुई दिन रातभरि लाईन गएकाले यो आज पनि फेरि हिजोकै जस्तो लामै समयसम्म बत्ति जाने हो कि भन्ने कुराकानी भयो ।त्यसपछि वीरगञ्जसम्म पुग्ने विकल्पको खोजी सुरु भयो । अन्य सवारी साधनहरु आउँछन कि भनेर सोच्दै थियौं । तर त्यो पनि शंभव भएन । अबको विकल्प भनेको स्थानीय अटोको प्रयोग मात्रै थियो ।
अटोवालालाई बोलाई दिउँ । मैले मालिकलाई सोधेँ । उनले हुन्छ त भने । तर त्यो मध्यरातमा कलैया पुगेर फेरि एक्लै घर फर्किने कुरा अटो चालकका लागि पनि त्यति सहज थिएन । यद्यपि मेरो अनुरोधलाई स्वीकार गर्दै उनले ८ सय रुपैया दिए जान्छु भने । अटोवालाको कुरा सुनिरहेका ति मान्छेले बिच्किए र आफ्नै अटोलाई ठेलठाल गरेर विस्तारै लैजाने सुनाए । मैले अटोवाला दाईलाई सरी भन्नुपर्ने भयो । मलाई लाग्यो राति घरमा सतिसकेका अटो चालकको निद्रा मैले अनाहकमा बिथोल्नेमात्रै काम गरेँ । दिनभरि ग्रामीण सडकमा अटो चलाएको थकाइ र अहिले फेरि तिनै मान्छेको निन्द्रा बिगार्ने मेरो काम । त्यसपछि मेरो दिमाग नमज्जाले हल्लियो । रातभर यसै बारेमा सोचिरहें ।जाडोयाम, आधा रातमा जंगलको बाटो, वन्यजन्तको त्रास उस्तै, त्यसमाथि साथमा बालबालिका र महिला । फेरि अर्कोतर्फ चार ठाउँमा घर, दुईवटा बस, फलफुलको ठुलो व्यापार लाखौंको दैनिक आम्दानी भएका व्यक्ति । प्रभु आखिर यो सबै सम्पति केका लागि ।
एउटा थोत्रे मोटरसाइकल भएको सामान्य जीवनयापन गर्ने मेरालागि यदि उनको जस्तो समस्या आउथ्यो भने त्यतिबेला पैसाको पक्कै अर्थ राख्दैनथ्यो होला । मलाई मात्रै होइन जो कोही पनि यस्तो आपतको बेला ऋणधन गरेर भएपनि सुरक्षित रुपमा घर पुग्ने उपाय खोज्थे होलान । तर सबैमा यस्तो कुरा लागू नहुने रहेछ मैले मनमनै सोचेँ ।
सर्लाहीको भरततालबाट मेरो घर आउँन सामान्य सवारीलाई बढीमा पौने २ वा २ घण्टा मात्रै लाग्छ । मयूरी ठीकठाक हुँदा ४रै घण्टा लाग्ला । यो बीचमा बागमति, चन्द्रपुर, निजगढ र पिलुवा बजार पर्छन् । अपदविपद पर्दा उनले जस्तो चाहे त्यस्तै होटलमा खाना खान ख्वाउन पनि सक्थे । तर त्यसो गर्न उनलाई जरुरी लागेन । मयूरीमा रहेका बालबालिका र महिलालाई खाना खुवाउनेतर्फसमेत वास्ता गरेको देखिएन । दिउसोदेखिको पेट भोको राखेर सबैलाई हिडाएका रैछन । यो सबै सम्भिएर ल्याउदा मलाई एकदमै उदेक लाग्यो ।मैले बारीमा साग छ । चुलो छ, भन्नु हुन्छ भने खाना बनाइदिन्छौं । यतै बस्नुस् । भोलि उज्यालो भएपछि सहज होला अनि जानु पनि भने । मानवताका हिसाबले रातीको समयमा अबर परेर आउने पाहुनालाई गर्ने त त्यही नै हो । छिटोछरितो खाने र आरामले सुत्ने व्यवस्था गरिदिने । मैले त्यही गरिदिने प्रस्ताव गरेको थिएँ ।
तर किन हो मेरो प्रस्ताव उनले स्वीकार गरेनन् । पैसा तिर्नुपर्छ भन्ने लाग्यो या किन दुःख दिनु भन्ठाने यो चाहीँ उनैले जानुन । ठिकै छ, मैलै पनि मेरो कर्तव्य पुरा गरें । स्वीकार गर्ने नगर्ने उनीहरुको कुरा थियो । उनीहरुले भने जस्तो आधा घण्टामा मयूरी चार्ज भएन । एकफुटी मुस्किलले चार्ज हुनासाथ चार्जको फ्यूज खस्ने समस्या भैरह्यो । यो मेरो वा उनको वसको कुरा थिएन । जेहोस्, साँडे १० बजेपछि नै उनीहरु जसोतसो त्यहाबाट हिडे । मेरो आँगनबाट मयूरी बल्लतल्त पिचमा चढ्यो । म हेरिरहेको थिएँ । पिचमा समेत मयूरीको गती निकै धिमा थियो । देखिन छाड्ेपछि ढोका बन्द गरेर म पनि भित्र कोठामा पसेर पलङ्गमा पल्टिएँ । ति मानिसहरुको व्यवहार देखेर मनमा अनेक प्रश्न उब्जिरहेकै थिए ।
उनीहरु कतिबेला कसरी घर पुगे वा पुगेनन् केही थाहा छैन । तर मलाई भने ती पाका मान्छेसँगको व्यवहार देखेर रातभरि निद्रा परेन । आखिर ति धनाड्य भनौंदाले धाक मात्रै लगाएका पो हुन् कि भन्ने तर्कनामा पनि आयो । कुनैकुनै मान्छेमा यस्तो फोस्रो धाक लाउने चरित्र पनि हुन्छ । तर फेरि मलाई धाक लाउँदा उनलाई के फाइदा होला र भन्ने पनि सोचेँ ।अन्त्यमा एक पटक भगवानलाई सम्भिएर उनीसंग पनि भन्न मन लाग्यो– हे भगवान ! यदि ति मान्छेसंग चार-पाँच ठाउँमा घर, गाडी, व्यापार भएकै भए यस्ता दरिद्र धनी संसारमा जन्म नदेउ । जस्ले समयको महत्व बुझेन, जोखिम बुझेन, संगै भएका लालाबाला र महिलाको भोक देखेन, अवस्था अनुसार पैसाको मुल्य बुझेन, बुज्दैन । त्यस्ता दरिद्रधनीसँग अब फेरि मलाई कहिल्यै भेट नगराइदेउ प्रभु !