वीरगञ्ज,वीरगञ्जमा सम्पन्न पाँचौं कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि अग्नी समूहले हात पारेको छ । शनिवार भएको फाईनल खेलमा अग्नी ग्रुपपले सिद्धार्थ बैंक लिमिटेडलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको अग्नीले पूरा ओभर खेल्दै सिद्धार्थ बैंकलाई ७२ रनको लक्ष्य दिएको थियो ।जवाफी व्याटिङ गरेको सिद्धार्थ बैंकले २ विकेट गुमाएर ६८ रनमै समेटिएपछि खेल अग्नीले जितेको हो । म्यान अफ दी म्याच अग्नी ग्रुपकै मुकुन्द रौनियार भएका थिए । विजेता खेलाडीहरुलाई प्रमुख अतिथि मधेस प्रदेश सरकारका युवा, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले शील्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण गर्दै मन्त्री जयसवालले प्रदेश खेलकुद ऐन पारित भईसकेको र खेलकुद परिषदहरु गठनको प्रकृयामा रहेको जानकारी दिनुभयो । उहाँले नारायणी रंगशालाको निर्माणका लागि संघ सरकारको मन्त्रालयसँग समन्वय गरिरहेको पनि बताउनुभयो ।मधेस प्रदेशका खेलकुद मैदानहरुको अवस्थाको विवरण आठवटै जिल्लामा मागिएको जानकारी दिदै खेलाडीहरुको समेत विवरण माग गरिएकोले सबैले आफ्ना नजिकका साथीहरु खेलाडी भए जानकारी गराउन पनि अनुरोध गर्नुभयो । १९ वर्ष मुनिको महिला क्रिकेट टिम विश्वकपमा पुग्न सफल भएको र उक्त टिममा मधेसबाटै तीनजना खेलाडीले प्रतिनिधित्व मात्रै होईन नेतृत्व नै गरेकोले पनि मधेसमा खेलकुदको उर्वरभूमि बन्न सक्ने बताउनुभयो । उहाँले महिला खेलाडीहरुको हौसला बढाउनका लागि मन्त्रालयले जनही १ लाख ५० हजार रुपैया नगद सहित घर घरमै पुगेर सम्मान गरिएको बताउनुभयो ।
वीरगञ्ज स्पोर्टस एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज परिवारको संयुक्त आयोजनामा मंसिर १ गतेदेखि शुरु भएको प्रतियोगितामा वीरगञ्जका बाणिज्य बैंक, बीमा कम्पनी, अटोमोबाईल कम्पनी र औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिमले सहभागिता जनाएको लायन्स क्लब अफ वीरगञ्ज परिवारका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिनुभयो ।
वीरगञ्ज स्पोर्ट एकेडेमीका अध्यक्ष संदीप गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पर्सा अध्यक्ष डा.विश्वम्भर शर्मा, लायन्स क्लबका डिष्ट्रिक चिफ बासु तिमिल्सिना, एरिया चिफ, श्याम गुप्ता, वीरगन्ज स्पोर्टस् एकेडेमीका संयोजक बैकुण्ठ श्रीवास्तव, नारायणी एफ.एम.का स्टेशन मेनेजर निरज पिठाकोटे, वीरगन्ज उद्योग वाणिज्य संघका मनोज उपाध्याय लगायतको उपस्थिति रहेको लायन्स क्लब अफ वीरगन्ज परिवारका उपाध्यक्ष नरोत्तम पाण्डेले जानकारी दिनुभयो ।



















