काठमाण्डौं,भारतको संविधानबाट देशको नाम समेटिएको ‘इन्डिया’ शब्द हटाउने तयारीको चर्चा बढेको छ । भारतको संविधानको परिभाषामा देशको नाम ’इन्डिया’ अर्थात् भारत रहेकोमा ‘इन्डिया’ शब्द हटाएर भारत मात्रै राख्ने सरकारको तयारीको चर्चा बढेको हो ।भारत सरकारले देशको नामबाट ’इन्डिया’ शब्द हटाउने प्रयोजनका लागि संविधान संशोधन गर्न यही सेप्टेम्बर १८ देखि संसद्को विशेष सत्र आह्वान गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एकाथरीले ’इन्डिया’ शब्द बेलायती उपनिवेशको अवशेष भन्दै हटाउनुपर्ने बताएका छन् । अर्कोथरीले देशको नाम परिवर्तन गर्नु उपयुक्त नहुने बताएका छन् ।विशेषगरी विपक्षी गठबन्धन आबद्ध दलका नेताहरूले ’इन्डिया’ शब्द हटाउने तयारीको विरोध गरेका हुन् । अर्को वर्ष हुने लोकसभा चुनावका लागि आफूहरूले गरेको गठबन्धनको नाम ‘इन्डिया’ रहेकोले सरकारले देशको नामबाटै ’इन्डिया’ हटाएर ’इन्डिया’ शब्दप्रति घृणा उत्पन्न गराउन चाहेको विपक्षीहरूको आरोप छ । विपक्षी गठबन्धनको नाम ‘इन्डियन नेशनल डेभलभमेन्टल इनक्लुसिभ अलायन्स’ अर्थात् छोटकरीमा ‘इन्डिया’ रहेको छ ।केही दिनपछि हुन लागेको जी–२० देशको शिखर सम्मेलनका लागि राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको रात्रिभोजको निम्तोमा ‘प्रेसिडेन्ट अफ भारत’ लेखिएपछि नामबारे चर्चा बढेको बीबीसी हिन्दीले जनाएको छ । निम्तोमा सात दशकदेखि चलिआएको ‘प्रेसिडेन्ट अफ इन्डिया’ लेख्ने चलन तोडिएको भन्दै प्रतिपक्षी दलहरूले विरोध गरेका छन् ।

Leave a Reply