कोल्हबी,प्रथम कोल्हबी भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले उचालेको छ । फाइनल खेलमा अर्को विभागिय टिम नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।पुलिसलाई लगातार तीन सेटमा पराजित गर्दै एपीएफले पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको उपाधि उचाल्न सफल भएको हो ।यसैगरी मधेस प्रदेश क्लबलाई पराजित गर्दै पाथिभरा क्लब झापाले तेस्रो स्थान हात पारेको छ । मधेस प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै झापा तेस्रो भएको हो ।प्रतियोगिताको विजेता एपीएफले दुई लाख पाँच हजार, उपविजेता पुलिसले एक लाख पाँच हजार र तेस्रो हुने झापाले ५५ हजार नगद प्राप्त गरेको छ । प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले पुरस्कार वितरण गर्नुभएको थियो ।कोल्हबी नगरपालिकाको सहयोगमा जनशक्ति क्लबले प्रतियोगिताको आयोजना गरेको थियो ।यसैगरी मैत्रीपूर्ण महिला भलिबल खेलमा सर्लाही विजयी भएको छ । सर्लाहीले बारालाई सोझो सेटमा पराजित गरेको हो । प्रतियोगिताको समापन समारोहका अवसरमा मैत्रीपूर्ण खेल राखिएको थियो ।



















