वीरगन्ज,साहसिक र रमाइलो अनुभवको खोजी गर्नेहरुका लागि वीरगन्जमा साहसिक पार्क संचालनमा आएको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्वर १४ बाईपासको बोलबम पेट्रोल पम्पनजिक संचालनमा ल्याइएको ‘वल्र्ड अफ अण्डर’ पार्कको आइतवार वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले धार्मिक विधिअनुरुप पूजा गरेर उद्घाटन गर्नुभएको हो ।उद्धाटन कार्यक्रममा बोल्दै उहाँले पार्क घुम्न आउनेहरुको लागि समय बिताउने ठाउँमात्रै नभई रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउने अर्को साधन पनि भएको बताउनुभयो । उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ता, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा, उद्योगी अशोक वैद्य, सौरभ केडिया, आरोह मित्तल, हेमंत बेद, सनी अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।वीरगन्जमा दिन बिताउनका लागि आवश्यक घुमफिर गर्ने स्थान अभाव रहेकोमा अब यो पार्क संचालनमा आएसँगै घुम्न आउने तथा स्थानीयका लागि पनि दिन बिताउन पार्क फलदायी हुने देखिएको छ ।डेढ बिघा जग्गामा ८ करोडको लगानीमा संचालनमा ल्याइएको पार्कमा विभिन्न प्रकारका साहसिक खेलका साथै आकर्षक सजावट गरिएको छ ।यहाँ जिपलाइन, स्काई साइकल, मल्टिपल रोप कोर्स, यापेलिङ, र वाल क्लाइम्बिङ जस्ता साहसिक खेलको अनुभव लिन सकिने छ ।वीरगन्जबाहिर गएर यस्ता खेलको अनुभव लिनुपर्ने बाध्यता पार्क संचालनमा आएसँगै हटेको पार्कका सञ्चालक सौरभ केडिया बताउनुहुन्छ ।५ जना व्यवसायीको संयुक्त लगानीमा संचालनमा ल्याइएको यो पार्कमा साहसिक खेलका साथै रोमाञ्चक बहुखेल मैदान पनि रहेको छ । जसमा फुटसल, टेनिस, भलिबल र क्रिकेट खेलका सुविधा पनि लिन सक्ने संचालक केडिया बताउनुहुन्छ ।पार्कभित्र छिरिसकेपछि खाजा नास्ताका लागि यहाँ घुम्न आउनेहरु बाहिर निस्कनु नपर्ने गरी व्यवस्था मिलाइएको छ । आवश्यक खानेकुरा तथा पेय पदार्थ पार्कभित्रै स्टलमा प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाइएको अर्का संचालक दीपक बेद बताउनुहुन्छ ।

Leave a Reply