काठमाण्डौ – पालिकाका ४४ रिक्त पदमध्ये अब ४१ पदका लागि मात्रै मतदान हुने भएको छ । तीन जना निर्विरोध भइसकेकाले ३३ जिल्लाका ४१ ठाउँमा आउँदो १६ गते मतदान हुन लागेको हो ।निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् । साथै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।
आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार समन्वय समिति, नगरपालिका र गाउँपालिकाको मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी ४१ पदका लागि ३ सय ७६ जना चुनावी मैदानमा कायम भएका छन् । २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत ३ सय ७६ जनाको उम्मेदवारी कायम भएको हो ।चुनाव चिन्हसमेत पाइसकेपछि दल र उम्मेदवारहरु चुनावी प्रचारमा जुटेका छन् । चुनाव हुने सबै ठाउँमा उत्साह भए पनि सबैभन्दा बढी चर्चा र चासो चाहिँ कीर्तिपुरमा छ । नगरपालिकाको मेयरको लागि कीर्तिपुरमा मात्रै उपचुनाव हुने भएकाले दल र उम्मेदवारको ध्यान पनि यहीँ बढी केन्द्रित छ ।
कीर्तिपुरका तत्कालीन मेयर राजकुमार नकर्मीको निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो । यहाँ मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसले कृष्णमान डङ्गोल, एमालेले डा.सुरेन्द्र मानन्धर, माओवादीले प्रा.डा.शिवशरण महर्जन, राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा बनाएका छन् ।नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादीको साथ लिएर उम्मेदवारी दर्ता गरेको हो । माओवादीको उम्मेदवारलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको पनि साथ छ । स्वतन्त्रबाट ११ जनाले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने जनाए पनि कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी (नयाँ शक्ति) पनि प्रतिस्पर्धामा छन् ।
सबैले चासोका साथ हेरेको कीर्तिपुर नगरपालिकाका चिया पसल, चौतारा, फल्चालगायतका ठाउँमा चुनावी छलफल हुन थालेको छ । निर्वाचन कार्यक्रम मङ्सिर ६ गतेदेखि १३ गते राति १२ बजेसम्म उम्मेदवारहरूले प्रचार प्रसार गर्न सक्ने आयोगले जनाएको छ ।
यसैबीच गृहमन्त्री रमेश लेखकले उपचुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । हिजो भर्चुअल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधीकारीसितको छलफलका क्रममा गृहमन्त्री लेखकले चुनावको सुरक्षालाई सामान्य रुपमा नलिन आग्रह गर्नुभयो ।चुनावी सुरक्षाका लागि आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उहाँले शान्ति सुरक्षाकै कारण चुनाव बिथोलिनेस्थिति आउन नदिन आग्रह गर्नुभयो ।



















