जीतपुर – सामाजिक सञ्जालमा बारा क्षेत्र नम्बर ४ का रास्वपा सांसद रहबर अन्सारीको आलोचना गरेका कारण पक्राउ परेका बाराको परवानीपुर गाउँपालिका– १ निवासी अवधेश मण्डललाई विना शर्त रिहा गर्न राष्ट्रिय एकता दलले माग गरेको छ । भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफ्नो सालाको खोजी तथा उद्धारका लागि मण्डलले सांसद अन्सारीसगँ पटक पटक सहयोगका लागि आग्रह गर्नुभएको थियो । तर सांसद अन्सारीबाट अपेक्षित सहयोग नपाएपछि मण्डलले सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद अन्सारीप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्नुभएको थियो ।
त्यहि कारण प्रहरीले मण्डललाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै राष्ट्रिय एकता दलले मण्डललाई विना शर्त रिहा गर्न माग गरेको हो । सामाजिक सञ्जालमार्फत सांसद अन्सारीविरुद्ध असन्तुष्टि व्यक्त गरेकै आरोपमा मण्डल पक्राउ परेको भन्दै राष्ट्रिय एकता दलले गम्भीर आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको हो । राष्ट्रिय एकता दलका मधेस प्रदेश सचिव दिलीप गुप्ताले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा विपद्को पीडामा रहेका नागरिकले जनप्रतिनिधिसँग जबाफदेहिता माग गर्दा पक्राउ गर्नु “गैरजिम्मेवार र निन्दनीय” भएको उल्लेख छ ।
दलका अनुसार भोटेकोसी बाढीमा मण्डलका सालो बेपत्ता भएपछि उहाँले खोजी तथा उद्धारका लागि सांसद अन्सारीसँग पटक–पटक सहयोगको आग्रह गर्नुभएको थियो । अपेक्षित सहयोग नपाएको महसुस भएपछि मण्डलले सामाजिक सञ्जालमार्फत असन्तुष्टि र आक्रोश व्यक्त गर्नुभएको थियो । राष्ट्रिय एकता दलले सरकार तथा प्रहरी प्रशासनसँग मण्डललाई “विनाशरत, तत्काल र ससम्मान” रिहा गर्न, भोटेकोसी बाढीमा बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य तीव्र बनाउन र राहत व्यवस्थापन प्रभावकारी बनाउन माग गरेको छ ।
साथै, नागरिकको असन्तुष्टि दबाउन प्रहरी शक्तिको दुरुपयोग भएको भए त्यसबारे निष्पक्ष छानबिन गरी दोषी देखिएका सांसद तथा सम्बन्धित निकायमाथि आवश्यक कारबाही गर्नुपर्ने माग पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीतर्फबाट भने मण्डलको पक्राउको कारणबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।















