सिम्रौनगढ,बाराको प्रसिद्ध ऐतिहासिक एवंम पर्यटकीय स्थल सिम्रौनगढ– ४ स्थित हरिहरपुरको पलकियामाई (बाक्सा) भनिने तुलजा भवानी क्षेत्रमा शुक्रवारदेखि उत्खनन् कार्य सुरु भएको छ ।नेपाल सरकार पुरातत्व विभाग काठमाण्डौले सो क्षेत्रमा उत्खनन् कार्य शुरु गरेको हो । विभागका कर्मचारीका अनुसार पलकियामाई परिसरभित्रको मठ आकृतिको अग्लो जमिनको सतहमा पुराना ईटा र भाडाकुडाका अवशेषहरु पाइएकाले थप अनुसन्धानको लागि उत्खनन थालिएको हो ।
यसअघि भएको जिओ फिजिक्स सर्भेले पनि उक्त स्थानलाई पुरातात्विक दृष्टिले महत्वपूर्ण साईटको रुपमा ईन्डेकेट गरेको जनाइएको छ । सो जमिन मुनिको बास्तु संरचनाको अवस्था पहिचान गर्न उत्खनन् कार्य शुरु गरिएको पुरातत्व विभागका अधिकृत हरिप्रसाद भुसालले जानकारी दिनुभयो । २१ दिनसम्म चल्ने सो उत्खनन्को क्रममा उक्त क्षेत्रका दुई स्थानमा उत्खनन गर्ने योजना रहेको भुषालले बताउनुभयो ।
विभागका अधिकृत भास्कर ज्ञावालीसहित ३ जनाको टोली उत्खनन कार्यको लागि बिहीवार नै सिम्रौनगढ आइपुगेको थियो । टोलीले सो क्षेत्रमा हिजोबाट ६ बाई ४ फिटको ट्रेल्चमा उत्खनन् कार्य सुरु गरिएको हो ।टोलीमा अधिकृत भुषालसहित पुरातत्वविज्ञ देवेन्द्रनाथ तिवारी र पुरातत्व अधिकृत छविकार नर्मदा श्रेष्ठ सहभागी छन ।



















