निजगढ,निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव युवराज आचार्यको सरुवा भएको छ । कार्यालयमा हाजिर हुन आएको २ साता पनि पूरा नहुदै प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरुवा भएको हो ।
आचार्यको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो ।
मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत आचार्यको गत फागुन २१ गते निजगढ नगरपालिकामा सरुवा भएको थियो । आचार्यले निजगढ नगरपालिका कार्यालयमा हाजिर भएर यही चैत ३ गतेबाट कामकाज सम्हाल्नुभएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचार्य निजगढमा हाजिर भएको २ साता पनि पुरा नहुदै सूर्यविनायक नगरपालिकामा सरुवा गरेको हो ।मन्त्रालयले आचार्यलाई सूर्यविनायकमा सरुवा गरेर निजगढ नगरपालिकामा भने हाललाई रिक्त नै राखेको छ ।


















