निजगढ,गढीमाई मेलामा बलीको राँगा मार हान्ने हतियार प्रदर्शन र ड्रोन क्यामेरा उडाउन नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले शुक्रवार एक सूचना जारी गरेर गढीमाई मेलामा मार हान्ने हतियार खुल्ला रूपमा बोक्न, प्रदर्शन गर्न र ड्रोन क्यामेरा उडाउन नपाइने जनाएको हो ।कार्यालयले जारी गरेको सूचनामा बलीको राँगा मार हान्ने व्यक्ति (मारक) ले बलीका लागि प्रयोग हुने हतियारहरू तरवार, खुँडा, खुकुरी, चक्कु जस्ता हतियारलाई खुल्ला रूपमा प्रदर्शन गर्न, बोक्न नपाइने भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा जारी सूचनामा आदेशको अवज्ञा गरेको पाइएमा हतियार जफत गरी त्यस्ता व्यक्ति उपर प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।त्यसैगरी कार्यालयले मेलामा ड्रोन क्यामेरा उडाउन पनि रोक लगाएको छ । कार्यालयले अर्को सूचना जारी गरेर मेलामा ड्रोन क्यामेरा उडाउन रोक लगाइएको जानकारी गराएको हो ।

प्रजिअ अधिकारीद्वारा हस्ताक्षरित सूचनामा ‘पञ्चवर्षीय गढीमाई मेलालाई लक्षित गरी कुनै पनि व्यक्ति, सङ्घ संस्थाले यस कार्यालयको अनुमति बेगर ड्रोन क्यामेरा उडान गर्न पाउने छैन ।’ भनिएको छ । यदि सूचनाको अवज्ञा गरी कोही कसैले ड्रोन क्यामेरा उडाएको देखिएमा ड्रोन क्यामरा जफत गरी क्यामराका धनी र उडानमा संलग्न व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही हुने पनि प्रजिअ अधिकारीले जानकारी दिनुभएको छ ।
यसैबीच मेलाको प्रचार प्रसारको लागि प्रचार समितिले जिल्लाका विभिन्न ठाउँमा होडिङ बोर्ड टाङ्गे कार्य शुरु गरेको छ । प्रचारप्रसार उपसमितिले गढीमाई मेलाको प्रचार गर्न जिल्लाको कलैया, सिमरा, पथलैया र पर्साको वीरगञ्ज, ठोरीलगायत दर्जनौं स्थानमा होडिङ्ग बोर्ड राखेको हो ।

समितिले निजगढ, जनकपुर, बिराटनगर जस्ता देशका ठूला शहरमा पनि होडिङ्ग बोर्ड प्रचार गर्ने जनाएको छ । समितिका सदस्य नरेश गुप्ताका अनुसार कोशी ब्यारेज पूल, जनकपुर, निजगढ, अमलेखगन्ज र सिमावर्ती क्षेत्रमा होडिङ बोर्ड जडान गरिने बताउनुभयो । एसिया महादेशकै सबै ठूलो बली मेलाको रुपमा रहेको पन्चवर्षिय गढीमाई मेलामा यस पटक करिब ३ करोड दर्शनार्थीले अवलोकन गर्ने मेला मुल व्यवस्थापन समितिले जनाएको छ । मंसिर १ गतेबाट शुरु भएको मेलामा दर्शनार्थीहरुको घुइँचो दिनप्रति दिन बढदै गएको छ ।

Leave a Reply