रौतहट । रौतहट स्थित विभिन्न पूर्वाग्रह राखेर सर्वसाधारण लाई जुत्ताको माला लगाएर घुमाउने वडाध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ। जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने गढीमाई नगरपालिका ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीसहित ४ जनामाथि इलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता गरिएको हो।
गरूडा नगरपालिका ३ मलाही बस्ने परीक्षण सहनीले माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल मलाही बस्ने वर्ष १८ का राजु सहनीलाई मोटरसाइकलमा बसाई गत मंगलवार गरूडा बजारबाट घर तर्फ जाँदै गरेको थिए । सोही क्रममा समयमा चाँदीपुल नजिक सडक खण्डमा गढीमाई वडा अध्यक्ष सहनीसहित नगरपालिका ९ बस्ने सोनेलाल सहनी, सनम सहनी र शैलेन्द्र सहनीले मोटरसाईकल रोकी विभिन्न किसिमको गाली गलौज गर्दै कुटपिट गरी परीक्षण सहनी र राजु सहनीको घाँटीमा जुत्ताको माला लगाई अपमानजनक तथा अमानवीय व्यवहार गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।
तीनैजना इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको, फरार वडा अध्यक्ष सहनीको खोजी भइरहेको तथा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।















