निजगढ,निजगढ नगरपालिका वडा नम्बर १० स्थित लाल खोलामा झोलुङ्गे पुलको उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि निजगढ नगर प्रमुख सुरेशकुमार खनालले शनिवार पुलको उद्घाटन गर्नुभएको हो ।
नगर प्रमुख खनालले रिवन काटेपछि अटोमा सवार भइ पुलको उद्घाटन गर्नुभएको हो । यसअघि बनेका अधिकांश झोलुङ्गे पुलहरु साघुरो भइ वर्षायाममा बेला साना सवारी साधनहरु आवत जावत गर्न समस्या भई रहेकोले यस झोलुङ्गे पुलमा अटो, मोटर साईकल आवत जावत गर्न मिल्ने गरि प्राविधिक डिजाईन गरेर निर्माण गरिएको नगर प्रमुख खनालले बताउनुभयो ।
झोलुङ्गे पुल सञ्चालनपछि वर्षायाममा खोला तर्दा ज्यानै जानेसम्मको चुनौती मोलेर खोला पार गर्दै आइरहेका लाल गाउँका बासिन्दालाई धेरै सुविधा प्राप्त हुने नगर प्रमुख खनालले बताउनुभयो । आफुहरुले नगरभित्रका विभिन्न खोलाहरुमा पुल निर्माण गर्नेतर्फ पनि सोंच बनाएको तर स्थानीय तहको बजेटले धान्न नसकिने भएपछि प्रदेश, केन्द्रमा पहल गरी रहेको खनालले बताउनुभयो । पुलको संरक्षणमा स्थानीयबासीले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । झोलुङ्गे पुल निर्माणपछि जनतामा खुशी छाएको वडा अध्यक्ष पदमबहादुर मोक्तानले बताउनुभयो ।
करिब १ सय १९ मिटर लम्वाई र डेढ मिटर चौडाई रहेको सो पुल १ करोड १६ लाखमा निर्माण सम्पन्न भएको हो । लाल खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिले सो कार्य मध्येको विभिन्न काम सम्पन्न गर्न ५१ लाख ६ सय ४० रुपैयामा सम्झौता गरेको जनाएको छ । टिविएसयु हेल्भटास बद्र्रीवास महोत्तरीको आर्थिक सहयोग र आर्दश जनसेवा युवा क्लव वीरगन्ज पर्साको समन्वय र निजगढ नगरपालिकाको समन्वयकारी भूमिकामा पुल निर्माण भएको लाल खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष एंव कार्यक्रममा सभा अध्यक्ष हिराबहादुर मोक्तानले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि अमिर सिंङ्गतान, सरिता रिमाल, मखनी बिक, जमानसिंह घलान, समाजसेवी पेमासिद्धी लामा, कुमार मोक्तान, हिराबहादुर लामा, भाईकाजी श्रेष्ठ, रेशम लामा, वडा सचिव भगवती रिमाल र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन जनक पौडेलले गर्नुभएको थियो ।