कलैया,शनिबारदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदै छ । तर प्रदेश २ सरकार भने यो वर्ष पनि संविधान दिवसमा सहभागी नहुने भएको छ । प्रदेश सरकारले अघिल्ला तिन वर्षदेखि लगातार संविधान दिवसको विरोध गर्दै आएको छ ।

अघिल्ला दुई वर्ष वर्तमान संविधान विरोध गर्दै आएको तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को प्रदेशमा संयुक्त सरकार थियो तर अहिले संविधान मान्ने नेपाली कांग्रेस र नेकपा माओवादीलाई पनि सरकारमा समावेश गराइएको छ । यद्यपि प्रदेश २ सरकारले फेरि पनि संविधान दिवस भने नमनाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउत संविधान दिवस यसपटक पनि नमनाउने बताउनुभयो । उहाँले संविधान दिवस मनाउने समय अहिले आइ नसकेको बताउनुभयो । संविधान दिवस पनि नमनाउने र विरोध पनि नगरी मौन भएर बस्ने मुख्य मन्त्री राउतले बताउनुभयो । संविधानमा हिले पनि संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता, केहि मौलिक हकअधिकार हुँदा हुँदै पनि संविधानमा रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने उहाँको भनाइ छ ।

सत्ता गठबन्धनका सहयात्री नेपाली कांग्रेसबाट मन्त्री बन्नुभएका रामसरोज यादव पनि संविधान दिवसको अवसरमा प्रदेश सरकारले कुनै कार्यक्रम नगर्ने जानकारी पाएको बतानुभयो । तर प्रदेशका कर्मचारीले भने यसपटक पनि संविधान दिवसको अवसरमा केही कार्यक्रम गर्ने भएका छन् । मुख्य सचिव हरिप्रसाद मैनालीका अनुसार संविधान दिवसका दिन आइतबार बिहान जानकी मन्दिर सरसफाइ गर्ने कार्यक्रम छ । यसबाहेक सरकारी कार्यालयहरुको पनि सरसफाइ गर्ने कार्यक्रम निर्धारण गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी मधेश आन्दोलनका बेलामा सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानका प्रावधान तथा पहिलो संविधान सभामा सर्वसम्मत भएका विषयलाई उपेक्षा गरी नेपालको संविधान २०७२ जारी भएको भन्दै सत्तारुढ जनता समाजवादी पार्टीले पनि दिवसका अवसरमा सरकारले गर्ने कार्यक्रममा भाग नलिने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति निकालेर मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक समुदायका मागलाई संविधानले सम्बोधन गर्न नसकेको भन्दै सच्चाउन दबाबका लागि आइतवार असोज ३ गते विभिन्न अन्तरक्रियाका कार्यक्रम गर्ने बताउनुभएको छ । जसपाबाट विभाजित लोकतान्त्रिक समाजवादी पार्टी लोसपा) ले भने संविधान दिवसलाई कालो दिनका रूपमा मनाउने भएको छ । यता, २०४७ को संविधान लागू गर्नु पर्ने माग गर्दै कलैयादेखि वीरगंजसम्मको पैदल र्याली हुने भएको छ । बाराको कलैयामा शुक्रबार पत्रकार समेलनको आयोजना गर्दै आयोजक संस्थाले बारा र पर्सा जिल्लाका नागरिकहरुको तर्फबाट ०४७ सालको संविधान लागू हुनु पर्ने माग गर्दै र्याली गर्न लागिएको बताएको छ । आयोजकले नयाँ संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने पनि जनाएको छ । र्यालीका बारा जिल्ला संयोजक बृजकिशोर साहले २०७२ को संविधान खारेज हुनुपर्ने र साझा धर्म, साझा देश, साझा राजा अभियान सफल पार्न कार्यक्रम आयोजना गर्न लगिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बाराका राजावादी कार्यकर्ता भरतबहादुर मल्ल, पर्सा नागरिक समाजका अध्यक्ष बिरेन्द्र थापा लगायतको सहभागिता रहेको थियो ।

नेपालमा संविधान जारी भएको आइतबार छ वर्ष पुगेर सात वर्ष लागेको अवसरमा संघीय सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेसँगै शनिबारदेखि सोमबारसम्म तीन दिन संविधान दिवस मनाउन लागिएको हो । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस तीन दिनसम्म देशभर हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा सातौँ संविधान दिवस मूल समारोह आयोजक समिति गठन भएको थियो । आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमका साथ मनाउने निर्णय गरिएको छ । संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आआफ्ना घरमा सम्मानका साथ राख्न अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here