वीरगञ्ज,समाजवादी प्रेस संगठन नेपाल पर्साले नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । संगठनको बुधवार बसेको दोस्रो बैठकले पत्रकार सर्राफको मंसिर १५ गते स्मृतिसभाको आयोजना गर्ने सोही दिन पत्रकारिता पुरस्कार वितरण गर्ने निर्णय गरेको हो ।
संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले सर्राफको निधन भएकै दिन मंसिर १५ गते वीरगञ्जमा दोस्रो स्मृति सभा गर्ने र सोही सभामा संगठनले यसअघि नै स्थापना गरेको स्व. नरेश सर्राफ स्मृति पत्रकारित पुरस्कार समेत वितरण गर्ने निर्णय गरेको निर्णय गरेको संगठन पर्साका अध्यक्ष शम्भुकुमार सुमनले जानकारी दिनुभयो ।
यस वर्षदेखि वितरण गरिने पुरस्कारको राशी रु २१ हजार रहेको छ । साथै बैठकले पत्रकारिता पुरस्कार वितरणको लागि व्यक्ति छनौट गर्न तीन सदस्यीय समिति समेत गठन गरेको छ । समितिको सदस्यमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, सल्लाहकार संजय साह र संगठन पर्साका अध्यक्ष शम्भुकुमार सुमन रहेका छन् ।
वीरगञ्जस्थित नेपाल पोष्ट डेलीको कार्यालयमा बसेको बैठकमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य रामचन्द्र साह, बालगोपाल थापा, मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य मनोज पटेल लगायतको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण संगठन पर्साका सचिव विनोद पटेलले गर्नुभएको थियो ।



















