हुनत हाम्रा प्रिय पाठकको हातमा र आँखामा यो पत्रिका पर्ने भनेको असार २५ गते बिहान मात्रै हो । यो अवधिसम्ममा राजनीतिमा धेरै उथलपुथल पनि हुन पनि सक्छ । राजनिति हो रातारात नसोचेको कुरा पनि हुन सक्छ । तर पनि हामीले एमालेको वर्तमान अवस्थाको बिषयमा कुरा गर्न खोजेका हौ । एमालेको दुई थरीका नेताहरु दुईतिर रहेका छन् । उनीहरुलाई एक ठाउँमा ल्याउनुपर्ने अवस्थाको सृजना गर्न पनि आवश्यक देखिएको छ । यसका लागि प्रयास पनि भइरहेका छन् ।
तर, यी प्रयासहरुले सार्थक सफलता हासिल गर्न सकेका छैनन् । बिहीबार पनि दिनभर नेताहरुका प्रयास भए भन्ने खबरहरु सार्वजनिक भएकै हुन् तर यसको अन्तिम टुंगो लाग्न सकेको छैन । एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालकाबीचमा कुरा मिल्न सकेको छैन । र कुरा धेरै फरक पनि छ यी नेताहरुको बीचमा ।
यी दुई नेताहरुबीचको टकरावका कारण एमाले अतित्वमा रहन्छ कि रहदैन भन्ने कुराको पनि बहस भइरहेको पाइन्छ । तर एमाले एक हुनुपर्छ देशका लागि यो फाइदाजनक नै छ । तर दुबैले स्वार्थ त्याग्न आवश्यक छ । फुटेर इतिहाँस बनेको उदाहरण छैन । त्यसैले एक जुट हुनुमा नै सबैको कल्याण छ । फुटेर जानेहरुको कल्याण पनि हुदैन । त्यसैले फुटको श्रृखला सदाका लागि सबै पार्टीमा अन्त्य भएकै राम्रो ।