कृष्णउदास खनाल
वीरगञ्ज,वीरगञ्ज महानगरपालिका अन्तर्गत पर्ने त्रिभुवन राजपथमा महानगरपालिकाले सडक विस्तार सुरु गरेको छ । सडक विस्तार विरुद्ध परेको सबै रिट सर्वोच्च अदालतले खारेज गरेपछि नगरप्रमुख राजेशमान सिंहको अगुवाइमा वीरगञ्जको भन्सार क्षेत्रको मेनरोडमा डोजर चलाउन सुरु भएको हो ।नगरप्रमुख सिंहका अनुसार अदालतको आदेशपश्चात घरधनीहरूलाई ३० दिनको सूचना दिइएको थियो। सूचना अवधि सकिएसँगै सोमवारदेखि ३ वटा डोजरसहितको टोलीले भन्सार क्षेत्रदेखि सडक विस्तार कार्यअघि बढाएको छ । मेनरोड हुँदै गण्डक चोकसम्म अतिक्रमण हटाएर २५ मिटर सडक विस्तार गर्ने महानगरले लक्ष्य लिएको नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।सडक विस्तारको लागि मेयर सिंहले भन्सार क्षेत्रमा पुग्नुभएको थियो । उहाँले वीरगञ्ज भन्सारदेखि गण्डक चोकसम्मको सडक विस्तार कार्यलाई निरन्तर अघि बढाइने बताउनुभएको छ ।

यो मार्ग वीरगञ्ज–पथलैया हाइवे तथा भारतको कोलकाता बन्दरगाहसँग जोडिने नेपालकै एक प्रमुख मालवाहक सडक हो । रक्सौल नाका हुँदै भित्रिने सवारी साधनको प्रवेशद्वार समेत भएको यस सडकको अव्यवस्थित अवस्था, अतिक्रमण र साँघुरोपनका कारण दैनिक ट्राफिक जाम, दुर्घटना बढिरहेको थियो ।सडकको दायाँबायाँ २५-२५ मिटर हटाउनुपर्ने मापदण्ड भएपनि सडक विस्तार विरुद्ध स्थानीयले मुद्दा दायर गरेपछि रोकिएको थियो ।सर्वोच्चले गत फागुन २८ गते खारेज गरेसँगै सडक विभाग र जिल्ला प्रशासन कार्यालयको आग्रहपछि वीरगन्ज महानगरपालिकाले सडक क्षेत्रको २५-२५ मिटरभित्र पर्ने संरचना हटाउन सुरु भएको हो ।यद्यपि सर्वोच्चले खारेज गरेको रिटपछिको फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । २७ औं पटकको पेशीमा वीरगञ्जको मुख्य सडक विस्तारको विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो ।रिट खारेज गरेसँगै सडक विस्तारका लागि कानुनी बाटो खुला भएपनि सडक विभाग भने मौन बसेको छ ।



















