परिवार छ सबथोक छ। छैन केही छैन् । भनिन्छ, परिवार सुख नै सर्वोच्च सुख हो । अल्बर्ट आइनस्टाइन भन्नुहुन्छ–“जीवनको सुन्दर भूमीमा आफ्नो परिवार सँग रमाउनुहोस।” तर कसरी रमाउने ? के सबैले रमाउन पाउँने भाग्य लिएर आएका छ्न् । कति टुक्रि सके कति भत्किसके । बडा बिचित्रको छ परिवार शास्त्र ।बुझी नसक्नु छ । ब्रह्माण्ड जत्तिकै रहस्यमय छ । क्षण क्षणमा परिवर्तनशिल छ । जति बुझ्यो त्यति गहिरो बुझिनसक्नु । भोगिनसक्नु । मानवशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, मनोबैज्ञान भन्दा जटिल छ परिवार शास्त्र । श्रीमती, बुबा, आमा, छोरा- छोरी परिवारशात्रका तत्व हुन् । प्रकृतिको पानी पर्ने र घाम लाग्ने कुरा बुझ्न र भविष्यवाणी गर्न सकिन्छ तर परिवारलाई पट्क्कै सकिन्न । छिनमै घाम छिनैमा पानी ।
देश हाक्न सजिलो छ तर परिवार हाक्न गाह्रो । धेरै राजनीतिक, सामाजिक, बैज्ञानिक र साहित्यकारहरु हारेका छ्न् परिवार हाँक्न। कहिले रवर जस्तो तन्किनु पर्ने कहिले फलाम हुनुपर्ने त कहिले मकैको ढोड । कतिबेला के हुनुपर्ने पत्तै नहुने । सबैलाई हसाउने मनोज गजुरेलले त परिवार हसाउन सकेनन । साराको उद्दार गर्दै मिलाउँदै वाइ वाइ कमाएका रबि लामिछ्नेले आफ्नै परिवारको उद्दार गर्न र मिलाउन सकेनन् । यी त प्रतिनिधि उदाहरण हुन् । यस्ता हजारौँ उदाहरण छ्न् यसकारण परिवार शास्त्र जटिल भएर आयो । एकातिर टाल्यो अर्को तिर प्वाल पर्छ । सबै प्वाल टाल्यो । आफै प्वाल पार्छ मान्छे । त्यसैले परिवार दिन दिनै जटिल बन्दैछ ।
परिवार शास्त्रमा भनिएको छ, परिवारको केन्द्र स्त्री र धर्म हुन्छ । दुबैको सम्मानले नै परिवार र समाजलाई बलियो बनाइराख्छ । दिगो बनाइ राक्छ । स्त्री जो, परिवारको गजुर हुन् । धर्म त्यस गजुरको ताकत । स्त्री र धर्मको तागतमा परिवार चलेको हुन्छ । त्यसैले धर्म र स्त्री नबुझ्नेले परिवार हाँक्न सक्दैन् । जाटिल मानिएको स्त्री चरित्र र मनोविज्ञान बुझ्नैपर्छ । तर कसरी यो त बुझिनसक्नु छ। बुझ्न त फलामको चिउरा बराबर छ ।
हो, सबलाई बाँध्ने स्त्री हुन् । सबै भन्दा सानो म हूँ भन्ने ठान्नु नै मुख्य ब्रत मानिन्छ । मानिसमा अंहमता भरिएको हुन्छ । प्रश्नोतरमा भानुभक्त लेख्नुहुन्छ- `क्या जानिइदैन भनेर बक्नू ? स्त्रीको चरित्रै छ नजानिसक्नु । क्या हो सबैले त नछोडी सक्न्या ? यै हो दुराशा अरु कीन बक्न्य ।’ स्त्रीको चरित्रै नजानिसक्नु हुन्छ र दुराशालाई कसैले पनि छोड्न सक्दैनन् । बास्तवमा स्त्रीको चरित्र र पुरुषको भाग्यलाई स्वयम् भगवानले पनि जान्दैनन् भन्ने गरिन्छ भने मानिसले त के कुरा जान्ला र ?
परिवार-सुखलाई जीवनको सर्वोच्व सुख मानिएको छ । जीवनको केन्द्रिय सुख भनिएको छ । जब हाम्रो परिवार मर्यादित हुन्छ, मूल्यवान हुन्छ, उत्तरदायी हुन्छ, सुखी हुन्छ, खुसी हुन्छ, प्रेमिल हुन्छ तब हाम्रा सबै दुःख, कष्ट, पीडा, अभाव नष्ट हुन्छन् । मन शान्त हुन्छ । जो हाम्रो खोजी हो । त्यसैले हामी जहिले पनि परिवारसँग एकाकार भएर नै जीवनको सर्वोच्व खुसी खोज्ने हो । अलग भएर होइन । यो एउटा सर्वश्रेष्ठ मान्यता हो । तर परिवार जोड्ने भन्दा पनि तोड्ने तत्वहरु र बाताबरण ज्यादै सक्रिय हुदा मन मन टुक्रिएका छ्न् । लियो तोल्स्तोयको `डेथ अफ आइभनइलिच´ कथामा इभान इलिच मस्कोमा जर्ज थियो उ जीन्दगी र श्रीमती प्रती नफ्रत गर्थ्यो । जीवनमा अहम ले भरिएको थियो । मर्ने बेलामा श्रीमतिले हात पक्रेको थियो आँखामा हेर्दै इभान इलिच भन्छ- मेरो पुरै जीवन गलत भयो त्यसको कुनै अर्थ छैन् । कतै तपाईं हाम्रो जीवन त्यस्तै हुने त होइन ?
हलिउड अभिनेता माइकल जे. फक्स भन्छ्न्, ‘परिवार महत्त्वपुर्ण कुरामात्र होइन, यो त सबथोक हो ।´हुनपनि परिवार बिना के हुन्छ र ? कल्पना समेत गर्न सकिन्न । र यो पनि भनिन्छ कि – फ्रेन्च सम्राट नेपोलियनको पतनमा उनको पारिवारिक विखण्डन र विचलनको पनि हात थियो । सफलता र असफलता परिवार कै साथ र सहयोगमा हुन्छ ।
उच्च मनोकांक्षाले परिवारलाई ध्वस्त पार्छ । यो पूँजिवादी दुनियाँमा उच्च मनोकांक्षा त हुने नै भो । स्वभावैले मानिस उच्च मनोकांक्षा बोकेको प्राणी नै हो । फेरि यो अहिलेको देखासेखी गर्ने समाज हो । ब्यक्ती धेरै भन्दा धेरै कमाउने र देखाउने तर्फ लाग्नु पनि अस्वभाविक लाग्दैन् । परिवार भित्र यी कुराहरु यस्तरी घुस्छन कि परिवारका तत्व भन्दा बढी हावी हुन्छ्न्।अहिले भौतिक दुनिया र ग्याजेटले मानविय संवेदना र मूल्यलाई फिक्का बनाइदिएको छ । पारिवारिक सम्बन्ध र प्रेममा विलासि साधन र त्यसप्रतिको मोह तिब्र रुपले हावी हुदा परिवारको मूल्य तथा धर्म नष्ट भएको यत्रतत्र सुन्न र देख्न पाइन्छ । पारिवारिक संतुलन गुम्दै जाँदैछ। सम्बन्ध सुधार गर्नुपर्नेमा उल्टै फेसबुक, टुइटर, इस्ट्राग्राम, भाइवरले सम्बन्ध बिगार्दै लगेको छ ।
परिवार जस्तो अमूल्य एकाइ कमजोर बन्दैछ।हाम्रो पूर्वीय परिवारमा पश्चिमी सोच र प्रवृत्ति घुस्दैछ । विवाह जस्तो पवित्र रिस्ता एउटा सामान्य खेल बन्दैछ । आज मन मिल्यो विवाह गर्यो । भोलि मिलेन डिभोर्स गर्यो । फेरि विवाह फेरि डिभोर्स । स्वतन्त्रताको नाममा । के यसरी ब्यक्ती सुखी र संतुष्ट हुन्छ ? हामीले नयाँ हिसावले खोजेको सम्बन्ध यस्तै हो ? यो एउटा खोजको बिषय हो । प्रभावकारी संचार र सम्वाद नहुदा, एकले अर्कोलाई नबुझ्दा र आफूभित्र हावी हुन खोज्दा परिवार टुक्रिन सक्ने हुन्छ । अहिले परिवार नटुक्रीयोस भन्ने तर्फ लाग्नु भन्दा टुक्रीयोस भन्ने तर्फ समाज, शिक्षा र सघ सघटन लागेको देख्दा परिवार शास्त्र थप रहश्यमय र बिगठनको दिशातर्फ लागेको देखिन्छ ।
सन्तुलित मनस्थिति, यथार्थ चिन्तन र धैर्यता परिवारको अर्थशास्त्रलाई सफल बनाउने तत्वहरु हुन् । प्रेमले परिवार हाक्नुपर्नेमा परिस्थिति, बाध्यता र बन्धनले परिवार हाक्नु पर्ने स्थिति जो छ यसले गर्दा पिल्सिनुपर्ने, दुखित हुनुपर्ने अवस्था छ । परिवारका हरेक अंगले सन्तुलित सोच बनाउनु पर्छ । संतुलनको तराजुले हेर्नुपर्छ । काखा र पाखाको दृष्टिकोण र ब्यवहार त्याग्नुपर्छ । यो र त्यो भन्दा पनि समानताको हिसावले हेर्नुपर्छ ।
यही परिवार हो जसले जीवनको शून्यतालाई भरिदिन्छ । अर्थपूर्ण बनाइदिन्छ । जीवनको लम्वेतान समयलाई चाहिँ शून्य गरिदिन्छ। जीवनको बाँच्ने आशा बढाइ दिन्छ।दीर्घजीवी बनाइदिन्छ। शुद्ध वैवाहिक सम्बन्धवाट शुरु भएको पारिवारिक जीवनको जेटले कसैलाई गन्तव्य पुर्याउछ।कसैलाई बाटोमै झारिदिन्छ।समाजले यस्तो विधि र बिधान बनाइदिएको छ कि विवाह नगरी हुँदै हुदैन्।विवाह नगरी सुखै छैन् भन्ने घुसाइदिएको छ । तर के गर्दा सुख के गर्दा दुख भन्न सक्ने अवस्था छैन्।त्यसैले सायद सामुअल जोनसोन भन्नुहुन्छ- `विवाहमा धेरै दु:ख छ तर ब्रह्माचारीमा खुशी छैन् ।´ हुनपनि पारिवारिक जीवन र जिम्मेवारीले ब्यक्तिगत स्वतन्त्रता नष्ट गरिदिन्छ । जे चाहान्छ त्यो गर्न पाउदैन, जे चाहादैन त्यो गर्नुपर्ने हुन्छ । समझदारीमा जीवन बाच्नुपर्ने हुन्छ के थाहा सम्झदारी खोज्दा खोज्दै असम्झदारीमै जीवन ब्यतित हुनसक्छ र समय त्यतिकै सकिन पनि सक्छ । पारिवारिक जीवन भएन भने के जीवन अर्थपूर्ण हुन्छ? कसरी जीवन बिताउने । एनअन्ड्रे माउरोइसले भन्नू भएको छ–“परिवार बिना मानिस संसारमा एक्लो हुन्छ र चिसोसंग डरले थरथर काँप्दैछ ।” तर अधिकांश तनावको भारी पनि परिवारबाटै प्राप्त छ मानिसलाई । हुनता हेर्ने आँखा र भोग्ने जीवनमा भर पर्छ ।
जर्ज बर्नार्ड शा भन्नुहुन्छ– “सुखी परिवार भनेको केवल स्वर्ग हो।” त्यस्तै फेडरिक नित्से भन्नुहुन्छ–” पारिवारिक जीवनमा प्रेमले घर्षण कम गर्ने तेल , सिमेन्टले जोडने र संगीतले सद्भाव कायम गर्ने काम गर्छ । तर असली कुरा त यो छ कि पारिवारिक जीवन बुझिनसक्नु छ । कहिले घाम र कहिले पानी भइरहन्छ । नाम नबताउने सर्तमा एक महिला भन्नुहुन्छ -“जीवन दु:ख हो । महिला हुनु त लामो दुःख । अझ परिवार हुनु त झन दु:ख । त्यो भन्दा ठूलो लामो दु:ख त परिवार नहुनु हो ।” कति गहिरो दर्शन लुकेको छ यहाँ ।
साहित्यकार तथा संस्कृतिबिद तुलसि दिवस भन्नुहुन्छ– ´जिन्दगी सोचेभन्दा नसोचेको ज्यादा। भोगेको भन्दा नभोगेको ज्यादा । बुझेको भन्दा नबुझेको ज्यादा। देखेको भन्दा नदेखेको ज्यादा ।’ यसमा परिवारको मुमिका मिसिएको छ ।
विवाहको सम्बन्धमा मिशेल डी मोन्टाइग्ने भन्नुहुन्छ-” विवाह एउटा खोर जस्तै छ; बाहिरका पक्षीहरूले भित्र पस्न आतुर भएको देख्छन्, र भित्रका ती व्यक्तिहरू पनि बाहिर निस्कन खोज्छ्न् ।” नगरी नहुने गरेर पनि नहुने विवाह बडा जटिल छ । परिवार नहुदा जीवन एक्लो, हुँदा हो हल्ला कचकचिलो । बोझिलो जस्तो । हुनत परिवार हाँक्ने ड्राइभरको हातमा छ सबै ।
परिवारको सम्बन्धमा कलाकार मदनकृष्ण श्रेष्ठ भन्नुहुन्छ,´ परिवारका सदस्यबीच समझदारी हुनुपर्छ । सबै अनुशासित हुनुपर्छ । सानोले ठूलोलाई र ठूलोले सानोलाई सम्मान र माँया दुवै गर्नुपर्छ ।´ आँहा कति राम्रो कुरा समझदारी, अनुशासन, माँया र सम्मान परिवार हाँक्ने तत्व ।
त्यस्तै शिक्षाविद केदारभक्त माथेमा भन्नुहुन्छ “ परिवार पनि लोकतान्त्रिक संस्था हो । एक जनाको मात्र हैकम चल्नु राम्रो होइन । परिवारभित्र सबैको सम्मान हुनुपर्छ । सबैको कुरा सुनिनुपर्छ।” हो,स्वतन्त्रता ,सम्मान र सम्बाद हुनु आवश्यक छ परिवार शास्त्र बुझ्न ।
जस्तो धर्म उस्तै कर्म,जस्तो कर्म उस्तै धर्म भन्ने हुन्छ । आफू मै धेरै कुरा भर पर्छ । एउटा परिवारलाई शान्त,सुखी र समृद्द बनाउन पारिवारिक धर्म,कूलको सम्मान,पुरुषको धर्म,स्त्रीको धर्म, सम्मान,गहिरो प्रेम सम्बन्ध,श्रद्धा ,शिक्षा र संस्कार, मेलमिलाप र संयुक्त परिवारले ठूलो भूमिका खेलेको हुन्छ । त्यति मात्र होइन आपसी बिश्वास, सम्वाद, समझदारी, सन्तुलित आकांक्षा र आम्दानी परिवारका इन्धन हुन् । कुनैमा पनि कमि हुन दिनु हुदैन् । अनिमात्र परिवार शास्त्र सफल हुन्छ । अनिमात्र केही बुझ्न सकिएलाकी… ।