वीरगञ्ज,वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्न आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले माग गर्नुभएको छ ।आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचार विरुद्ध मधेस यात्रा’ कार्यक्रमको बुधवार पर्साको निचुटामा आयोजित आमसभालाई सम्बोधन गर्दै साहले वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गरेर वीरग ञ्जको विकास सोहीअनुसार गर्न सरकारसंग माग गर्नुभयो ।

मुलुकमै सबैभन्दा बढी आर्थिक कारोबार हुने, बढी उद्योगधन्दा भएको वीरगञ्ज क्षेत्रलाई आर्थिक राजधानी घोषणा गर्नुपर्ने उहाँको भनाई थियो ।मुलुकको ८० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन यही क्षेत्रबाट हुँदै आइरहेको भए पनि यस क्षेत्रको विकासमा राज्यले चासो नदिएको उहाँको भनाई छ ।
अर्को प्रसङ्गमा साहले ओली सरकारकै कारण सीमावर्ती क्षेत्रका नागरिकले दुख पाईरहेको आरोप लगाउनुभएको छ । ‘नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले भारतबाट घरेलु प्रयोगका लागि केही समान ल्याउँदा उनीहरूको निजी सम्पत्ति नै लुट्ने, जफत गर्ने, कब्जा गर्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भन्नुभयो, ‘सीमावर्ती क्षेत्रमा भन्सार नखोल्ने, भएको भन्सार कार्यालयको स्तरोन्नति नगर्ने वर्तमान सरकारले केवल सीमावर्ती क्षेत्रका नागरिकलाई दुख मात्रै दिइरहेको छ ।
सीमावर्ती क्षेत्रका नागरिकलाई भन्सार कार्यालय दिनुप¥यो । उनीहरू कुनै समान ल्याइरहेका छन् भने उनीहरूबाट भन्सार लिनु, नकि उनीहरुको निजी सम्पत्ति नै जफत गर्ने अधिकार यो सरकारलाई छैन ।’कमिसनको लोभमा निजी सम्पत्ति लुट्ने गरिएको बताउँदै उहाँले त्यसको हिस्सा तलदेखि माथिसम्मकाले बाँडेर खाने गरेको आरोप लगाउनुभयो । सीमावर्ती क्षेत्रका नागरिकको निजी सम्पत्ति लुटेर भन्सारको कानूनमा ४५ प्रतिशत कमिसन खाने व्यवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उहाँले यसका बिरुद्धमा कडा आन्दोलनको आवश्यकता भएको बताउनुभयो ।प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा कायम गर्न असफल भएको बताउँदै उहाँले अहिले सबै क्षेत्रमा सरकारकारी आतंक मचाइएको समेत दाबी गर्नुभयो ।


















