सिमरा,पिलुवा युवा क्लबले जीतपुरसिमराको महेन्द्रनगरमा आयोजना गरिएको नकआउट फूटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका १६ महेन्द्रनगरमा बुधवार भएको उद्घाटन खेलमा पिलुवाले मौवादेवी युवा क्लब बडहर्वालाई ४–१ ले पराजित गरेको हो ।जितसंगै पिलुवा प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बिहीवार रामनगर क्लब र गैरीगाउँ क्लबबीच खेल हुनेछ ।
महेन्द्रनगर युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् ।यसअघि प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै खरेलले वडाभित्र खेलकुद गतिविधि तीव्रताका साथ अघि बढाइने बताउनुभयो । खेलकुदले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाईरहेको चर्चा गर्दै खरेलले दक्ष खेलाडी उत्पादनका लागि वडाले खेलकुद गतिविधिका योजना ल्याइरहेको बताउनुभएको छ ।
उद्घाटन समारोहमा जीतपुरसिमरा वडा नम्बर १४ की वडा अध्यक्ष चयन गुरुङ, डुमरवाना बहुमुखी क्याम्पसका अध्यक्ष अनिल मैनाली, क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी, वडा नम्बर १६ का पूर्ववडा अध्यक्ष केदारनाथ बजगाईं, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, खेलकुद संघसंगठनका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।



















