निजगढ,बारा जिल्ला अदालत विभिन्न मुद्दामा दोषि ठहर भइ कैद र जरिवाना फैसला भएका ५ जना फरार प्रतिवादीहरुलाई निजगढ प्रहरीले मंगलवार पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाको नेतृत्वमा खटिएको प्रहरी टोलीले निजगढ नगरपालिकाका विभिन्न स्थानमा लुकिछिपी बस्दैआएका उनीहरुलाई नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार पक्राउ पर्नेमा निजगढ वडा नम्बर ९ बस्ने खडकराज मैनाली, निजगढ नगरपालिका वडा नम्बर २ बस्ने सागर राई, निजगढ ८ बस्ने नानसाईली भन्ने माया गोले, सोही ठाउँ बस्ने अर्जुन थापा भन्ने बालकृष्ण थापा र ईन्दीरा थापा रहेका छन ।
पक्राउ परेका मैनाली र राई अदालतको फैसलाअनुसारको जरिवाना रकम बुझाएर मंगलवार नै छुटेका छन भने अन्यलाई प्रहरीले जिल्ला अदालत बारामा बुझाएको छ । मैनालीविरुद्ध चेक अनादर मुद्दामा जिल्ला अदालत बाराले जेष्ठ १३ गते ५ सय रुपैया जरिवाना फैसला गरेको थियो ।.सवारी ज्यान मुद्दामा अदालतले १महिना कैद र १ हजार जरिवाना फैसला गरेपछि सिंगौलका राई पनि फरार रहदैआएका थिए ।त्यसैगरी लागूऔषध मुद्दामा फरार प्रतिवादी माया गोलेविरुद्ध जिल्ला अदालत बाराबाट ०७९ साल चैत्र १३ गते १ वर्ष कैद र ५ हजार जरिवाना फैसला सुनाइएको थियो । फैसलापछि फरार रहेकी गोलेलाई खोजतलासको क्रममा प्रहरीले घरबाट पक्राउ गरेको हो ।पक्राउ परेका अर्का बालकृष्ण थापा विरुद्ध १ वर्ष, ६ महिना कैद तथा ५ हजार जरिवाना फैसला गरेको थियो । त्यस्तै इन्दीरा थापाविरुद्ध भने अदालतले २ हजार जरिवाना फैसला गरेको थियो । जिल्ला अदालतले गत असार १८ गते उनीहरुविरुद्धकैद र जरिवाना फैसला सुनाएको थियो ।
फरार प्रतिवादीद्वारा आत्मासर्मपण
सिमरा,डिभिजन वन कार्यालय सिमरा बाराले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान तीव्र पारेपछि एक जना फरार प्रतिवादी आफैँ कार्यालयमा आएर आत्मासर्मपण गरेका छन् ।वन पैदावार हानीनोक्सानी मुद्दामा एक वर्षदेखि फरार करैयामाई गाउँपालिका वडा नम्बर ५ तेतरिया बस्ने वर्ष ३५ का जयप्रकाश सहनी कार्यालयमा आफै आएर आत्मासर्मपण गरेको डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीवकुमार झाले जनकारी दिनुभयो ।
सहनीले सञ्चालनमा गरेको स मिलमा १ सय क्युफिट अबैध काठ बरामद भएपछि उनी विरुद्ध कार्यालयले वन पैदवार हानी नोक्सानी तथा ओसारपसार मुद्दा दायर गरेको सो मुद्दामा अनुसन्धानको जिम्मा पाएका मधुवन सबडिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत संजय चौधरीले बताउनुभयो ।वन कार्यालयले सहनीमाथि १ लाख १८ हजार ७ सय ५० रुपैया बिगो असुलीदाबी गरेको छ । उनलाई हाल डिभिजन बन कार्यालय सिमराको थुनुवा कक्षमा राखिएको डिभिजन वन कार्यालय बाराका जमदार नागेन्द्रप्रसाद बैठाले बताउनुभयो ।



















