निजगढ,नेपाली सेनाले निजगढ– काठमाण्डौं द्रुतमार्ग निर्माणको काम सुरु गरेको आठ वर्ष पुरा भएको छ तर यो अवधिमा आयोजनाको भौतिक प्रगति मात्र ३९.३४ प्रतिशत र वित्तीय प्रगति ४१.०६ प्रतिशत मात्रै भएको छ ।आयोजनाको २०७४ वैशाख २१ गतेदेखि २०८१ चैत मसान्तसम्मको अवधिमा द्रुतमार्गमा उक्त भौतिक र वित्तीय प्रगति भएको हो ।
द्रुतमार्गको कुल लम्बाई ७०.९७७ किलोमिटर छ, जसमा सडक ४८ किलोमिटर, सुरुङ १० किलोमिटर र पुल १२.९ किलोमिटर छ । पछिल्लो पटक द्रुतमार्गको म्याद २०८३ चैत मसान्तसम्मलाई थप गरिएको छ । अर्थात् अबको दुई वर्षभित्र सेनाले काम सम्पन्न गरिसक्नुपर्छ ।

परिमार्जित विस्तृत आयोजना प्रतिवेदनबमोजिम आयोजनाको कुल लागत २ खर्व ११ अर्व ९३ करोड रुपैयाँ छ । २०८१ चैत मसान्तसम्म द्रुतमार्गका नाममा ७५ अर्ब १६ करोड रुपैयाँ खर्च भइसकेको छ ।नेपाली सेनाका अनुसार, चालु आर्थिक वर्ष २०८१÷८२ मा द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड ९३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । २०८१ चैत मसान्तसम्म उक्त रकममध्ये ८ अर्ब ७ करोड ४५ लाख ४१ हजार ६५१ रुपैयाँ खर्च भइसकेको छ ।

बाराको निजगढबाट सुरु भएर ललितपुरको खोकनामा टुङ्गिने द्रुतमार्ग आयोजनाको समष्टिगत कार्ययोजनाअन्तर्गत १३ वटा निर्माण प्याकेज छन् । तीमध्ये हालसम्म प्याकेज नम्बर १, २, ३, ४, ५, ६, ७, ८क, ८ ख, ९ क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनका चरणमा छन् । प्याकेज नम्बर ११ अन्तर्गतपर्ने खोकना–बुङ्गमती खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या साथै शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले खरिद प्रक्रिया शुरु हुन बाँकी छ ।
बुङ्गमती इलाकामा पर्ने बोसी खान्की गुठीको १०–०–०–१.०६ रोपनी क्षेत्रफल जग्गा आयोजना प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा २०८१ चैत १९ गते प्राप्त भएको सेनाले जनाएको छ ।

हालसम्म स्वीकृत विस्तृत आयोजना रिपोर्ट (डीपीआर) बमोजिम खोकना–बुँगमती इलाकामा मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी जग्गा १७८–९–०–१.७५ रोपनी छ । यस्तै, मूल्य निर्धारण हुन बाँकी जग्गा १६५–६–०–३ रोपनी छ ।
द्रुतमार्गको २४.८ किलोमिटर देखि ७०.९७७ किलोमिटरसम्म पर्ने जग्गाहरूको अधिग्रहण सम्पन्न भई निर्माण कार्य भइरहेको छ ।द्रुतमार्गको ६.५ किलोमिटरदेखि २४.८ किलोमिटर खण्डमा सुरुङ्गमार्ग, स्लोप प्रोटेक्सन्, रिभर ट्रेनिङ निर्माण कार्यका लागि आवश्यक पर्ने विभिन्न नम्बरी जग्गाहरू अधिग्रहणको स्वीकृति प्राप्त हुने क्रममा छ ।
द्रुतमार्गअन्तर्गत ७ वटा सुरुङ पर्छन् । ती सुरुङमार्गका लम्बाइ १०.९७९ किलोमिटर छ । दुईवटा सुरुङ ब्रेकथ्रु भइसकेको छ । ब्रेकथ्रु भएकामा १ हजार ६९१ मिटर लामो धेद्रे सुरुङ र १ हजार ६२३ मिटरको लेनडाँडा सुरुङ छन् ।
महादेवटार सुरुङको लम्बाई ३ हजार ३५५ मिटर छ । यसको बायाँ सुरुङतर्फ २ हजार २८८ मिटर (६८ प्रतिशत) र दायाँ सुरुङतर्फ २ हजार २९ मिटर (६१ प्रतिशत) निर्माण सकिएको छ ।

एक हजार मिटर लामो देवीचौर सुरुङ र ३९० मिटरको सिसौटार सुरुङको खरिद सम्झौता तथा डिजाइन सकिएको छ । यी दुई सुरुङको पोर्टल निर्माण चलिरहेको छ ।दुई हजार २५० मिटर लम्बाई रहेको चन्द्राम भीर सुरुङको ९१.०३ मिटर खन्ने काम सकिएको छ । यस्तै, ५८३ मिटर लामो मौरीभीर सुरुङको डिजाइन स्वीकृत भई निर्माण सुरु हुने चरणमा रहेको भनाई सेनाको छ ।नेपाली सेनाले सार्वजनिक गरेको २०८१ चैत मसान्तसम्मको प्रगति विवरणअनुसार द्रुतमार्गमा ८९ पुलमध्ये ८५ पुलको ठेक्का सम्झौतापछि निर्माणका चरणमा छन् ।निर्माणाधीन अधिकांश पुलहरूको ‘फाउण्डेशन’ सकिएको र ‘सुपरस्टक्चर’का काम भइरहेको छ । आयोजनामा ५ स्थानका पुल बनिसकेको र यस आर्थिक वर्ष २० पुलहरूको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

Leave a Reply