निजगढ,आन्तरिक राजश्व कार्यालय सिमराका कर अधिकृत रामकृष्ण गुप्ताले कर चुक्ता गर्ने सम्बन्धमा करदाता आफै सचेत हुनुपर्ने बताउनुभएको छ ।कार्यालयले निजगढ उद्योग बाणिज्य संघको समन्वयमा मंगलवार निजगढमा आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै अधिकृत गुप्ताले सो कुरा बताउनुभएको हो ।
कर अधिकृत गुप्ताले व्यापारीहरुलाई दण्डित गर्ने उद्देश्य राजश्व कार्यालयको नभएको बताउदै कानुनी व्यवस्थाको बारेमा जानकारी नहुँदा व्यवसायीहरु दण्डित हुनुपर्ने अवस्था देखिएको बताउनुभयो । ‘कर सम्बनिध कानुनको बारेमा धेरै व्यवसायीहरुलाई जानकारी नै छैन, उहाँले भन्नुभयो, यसको लागि करदाता व्यवसायी आफै सक्रिय भएर जानकारी लिनुपर्छ ।’ उहाँले बिचौलिया र अन्य व्यक्तिको भरमा मात्रै परेर काम नगर्न पनि व्यवसायीहरुसंग आग्रह गर्नुभयो । ‘कारोबार गर्ने क्रममा केही कुरा बुझिएन वा समस्या आयो भने व्यवसायी आफैले सक्रिय भएर बुझ्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा कर, भ्याट, मिस म्याच, इ प्यान, मूल्य अभिवृद्धि कर, स्थायी लेखा नम्बर, अन्तःशुल्क, व्यावसायिक तथा निकायगत रूपमा स्थायी लेखा नम्बर प्राप्तिको लागि आवश्यक पर्ने कागजातहरू, आयकरको दर, मूल्य अभिवृद्धिमा जाने अवस्था, इटिडिएस लगायतका विषयमा जानकारी गराएको थियो । त्यसैगरी कार्यक्रममा व्यक्तिको करको दर र व्यावसायिक मापदण्ड पालना नगर्दा हुनसक्ने दण्ड र जरिवानाबारे पनि पनि व्यवसायीहरुलाई जानकारी दिइएको थियो ।
निजगढका उद्योगी तथा व्यवसायीलाई प्रणाली, कर छुट तथा कर दाखिला लगायत कर सम्बन्धि विभिन्न विषयमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको निजगढ नगर उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताउनुभयो ।
कार्यक्रमबाट व्यवसायीले कर छुट तथा परिवर्तित कर प्रणाली लगायतका विषयमा ज्ञान हासिल भएको र संघले आगामी दिनमा पनि व्यवसायीको हितलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने संघका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।
कार्यक्रममा उपस्थित करदाता उद्योगी, व्यवसायीले करको बारेमा विभिन्न जिज्ञासा र कारोबारको क्रममा बोहोर्नु परेका समस्याहरुको बारेमा गुनासो राखेका थिए ।निजगढ क्षेत्रका ५ दर्जनभन्दा बढी करदाता व्यवसायहरुको सहभागिता रहेको सो कार्यक्रममा आन्तरिक राजश्व कार्यालय सिमराका २ जना कर अधिकृतसहित ४ जनाको टोलीले कर सम्बन्धि जानकारी दिएको थियो ।
















