वीरगन्ज। राजस्व छलीको मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका एक व्यापारी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रौतहटको गरुडा नगरपालिका–१ निवासी ३३ वर्षीय गुलसन श्रीवास्तवलाई वीरगन्जबाट पक्राउ गरेको हो। सीआईबीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा बुधबार वीरगन्ज महानगरपालिका–१६, नगुवाबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार श्रीवास्तवले पाँचवटा व्यापारिक फर्ममार्फत झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गरी राजस्व छली गरेका थिए। सोही अभियोगमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको थियो।

राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत प्रेमप्रसाद आचार्यसहितको प्रतिवेदनका आधारमा दायर मुद्दामा अदालतले २०८१ वैशाख २४ गते ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो।

श्रीवास्तव सङ्ग्रिला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेशनल, मयङ्क इन्टरप्राइजेज, शुभ लक्ष्मी इन्टरनेशनल र न्यू महादेव इन्टरनेशनल नामका पाँच कम्पनीका सञ्चालक रहेको प्रहरीको भनाइ छ।

अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेका उनलाई पक्राउपछि सजाय भुक्तानका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिए।

Leave a Reply