कलैया,बारा प्रहरीले जिल्लाका विभिन्न स्थानमा भएका अपराधिक घटनामा संलग्न भएको आरोप लागेर फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालतबाट दण्ड सजाय तोकिएका र अपराधपछि फरार रहेका प्रतिवादीहरूको खोजी गरी पक्राउ गरेको हो ।
प्रहरीले वन मुद्दामा अदालतले १२ हजार ५ सय ७१ रुपैयाँ जरिवाना तोकेको निजगढ नगरपालिका वडा नम्बर ८ का पञ्चलाल कुमरलाई निजगढ बजारबाट पक्राउ गरेको जनाएको छ । त्यस्तै, चोरी मुद्दामा १० हजार रुपैयाँ जरिवाना तोकेका प्रसौनी गाउँपालिका वडा नम्बर ६ का अवधेशकुमार मण्डललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुटपिट अंगभंग मुद्दामा अदालतबाट दुई हजार रुपैयाँ जरिवाना र २५ दिन कैद सजाय पाएका बुनियादका जादोलाल साह कानुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै, चेक अनादर मुद्दामा एक÷एक हजार रुपैयाँ जरिवाना तोकेका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का मुगले आजम अंसारी, सुधिरकुमार कलवार, रघुवीरप्रसाद खाँ थारू र रमेश चौधरीलाई पनि पक्राउ गरिएको छ ।प्रहरीले चोरी मुद्दामा अदालतबाट एक हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय फैसला भएका कलैया उपमहानगरपालिका वडा नम्बर २१ का नरेश गिरीलाई पनि नियन्त्रणमा लिएको बताएको ।
पक्राउ परेका प्रतिवादीहरुलाई आवश्यक कारबाहीका लागि बारा जिल्ला अदालत, कलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

Leave a Reply