वीरगञ्ज। पर्सा जिल्लाको ठोरी गाउँपालिका जिल्लाकै पहिलो साक्षर पालिकाको रूपमा घोषणा गरिएको छ । शनीवार ठोरी गाउँपालिका– ३ स्थित शिकारीवासमा आयोजित एक विशेष कार्यक्रममा पालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले उक्त घोषणा गर्नुभएको हो ।कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन प्रसाद साह सोनार प्रमुख अतिथि हुनुहुन्थ्यो भने प्रमुख जिल्ला अधिकारी गणेश अर्याल विशिष्ट अतिथिका रूपमा सहभागी बन्नुभएको थियो ।
गाउँपालिकाले नेपाल सरकारले साक्षर पालिका घोषणा गर्नका लागि तोकेको १२ सूचकमध्ये ८ वटा पूरा गरेको आधारमा यो उपाधि प्राप्त गरेको हो । शिक्षा शाखा प्रमुख भुपाल जोशीका अनुसार, आसमान नेपालको सहयोगमा गरिएको सर्वेक्षणमा पालिकाका पाँचवटै वडाका ३ हजार ८०९ घरधुरी समेटिएको थियो ।

सर्वेक्षणमा १५ देखि ६० वर्ष उमेर समूहका १५ हजार ६७८ जनामध्ये ९८.८६ प्रतिशत (१५ हजार ३२१ जना) साक्षर पाइएपछि साक्षर पालिका घोषणा गरिएको हो । सरकारको मापदण्डअनुसार १५–६० वर्ष उमेर समूहमा ९५ प्रतिशतभन्दा बढी साक्षरता पुगेको पालिकालाई साक्षर पालिका घोषणा गर्ने व्यवस्था छ ।कार्यक्रममा उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, उद्योग विभागका महानिर्देशक सुशील साह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डन्ट चिकित्सक चुमनलाल दास र आसमान नेपालका धर्मेन्द्र चौरसिया लगायतको उपस्थिति थियो ।अध्यक्ष श्रेष्ठका अनुसार, पर्सा जिल्लाका १४ पालिकामध्ये पहिलो तथा मधेस प्रदेशका १३६ पालिकामध्ये सातौं पालिकाको रूपमा ठोरीले साक्षर पालिका बन्ने मौका प्राप्त गरेको हो ।



















