निजगढ,बाराको निजगढ नगरपालिकामा निर्माण भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले बुधबारबाट नयाँ भवनबाट सेवा शुरु गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले अस्पतालको उद्धाटन गरेसंगै अस्पतालले नयाँ भवनबाट सेवा सञ्चालन शुरु गरेको हो ।निजगढ नगरपालिकाले उपलब्ध गराएको साडे ११ कठ्ठा जमिनमा अस्ट्रेलियन दातृ संस्था फ्रेड होलोज फाउन्डेशनको करिब १९ करोड लगानीमा अस्पताल भवन निर्माण भएको हो ।
उद्धाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले मधेस प्रदेसमा सुविधा सम्पन्न आँखा अस्पतालन निर्माण भएको खुसी व्यक्त गर्नुभयो । उहाँले अस्पतालको भवन र पूर्वाधारमा भन्दा पनि सेवाको गुणस्तर र बिरामीको सुविधानमा ध्यान दिएर काम गर्नुपर्ने बताउनुभयो । ‘भवन ठूलो कुरा होइन, उहाँले भन्नुभयो, अस्पतालले उपलब्ध गराउने सेवा र सुविधा ठूलो हुुनुपर्छ ।’
कार्यक्रममा नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक एवंम विश्व प्रसिद्ध आँखा विशेषज्ञ डा. सन्दुक रुइटले अस्पतालले दैनिक तिनदेखि ६ सय आँखाका बिरामीले लाभ लिने अपेक्षा गरिएको बताउनुभएको थियो । ‘अस्पतालबाट मधेस प्रदेशसहित तराईका अघिकांश जिल्ला र सीमा क्षेत्रका भारतीय नागरिकले पनि उपचार पाउनेछन, डा. सन्दुक रुइटले भन्नुभयो, अबको केही वर्षपछि निजगढमा बार्षिक आठदेखि दश हजार मानिसको आँखाको शल्यक्रिया गर्ने योजना छ ।’ उहाँले गरिब तथा असाहयहरुले अस्पतालबाट सुलभ रुपमा उच्च गुणस्तरको आँखा हेरचाह प्राप्त गर्नसक्ने पनि बताउनुभयो ।
नेपाल आँखा कार्यक्रमका कार्यकारिणी समितिका अध्यक्ष सुहद घिमिरे सभापतित्वमा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, अस्ट्रेलियन दातृ संस्था द फ्रेड होलोज फाउन्डेसनका निवतर्मान अध्यक्ष माइकल जन्सन, द फ्रेड होलोज फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत विशआर्ट, नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङलले अस्पतालले प्रदान गर्ने सेवाको बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले निजगढमा सुविधा सम्पन्न आँखा अस्पताल निर्माण हुनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले अस्पताल स्थापना गर्न सहयोग गर्नुहुने सबैप्रति धन्यवाद पनि व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभासदस्य अच्युत मैनाली, मधेस प्रदेश सभा सदस्य मिना लामा, तिलगंगा आँखा अस्पताल संचालक समितिका सदस्य एवंम लोकप्रिय हास्यकलाकार हरिवंश आचार्य लगायतको उपस्थिति रहेको थियो ।
मोफसलकै ठुलो आँखा अस्पतालका रूपमा रहेको निजगढ तिलगंगा अस्पतालमा बहिरंग सेवा, विशेषज्ञ सेवा, विस्तारित सेवा र नियमित शल्यक्रिया सेवा संचालन हुने जनाइएको छ । शुरुमा अस्पताल निर्माणको लागत १७ करोड अनुमान गरिएकोमा बढेर १९ करोड पुगेको थियो ।
यसअघि निजगढ तिलगंगा आँखा अस्पतालले निजगढ नगरपालिका– ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा स्टल राखेर आँखा उपचार सेवा प्रदान गरिरहेको थियो ।अस्पतालले लैङ्गिक असमानता र जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न पहल गर्नेछ । नेपालमा पुरुषको तुलनामा महिलामा दृष्टि गुम्ने सम्भावना दुई तिहाइ बढी छ । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको अनुमानित ४–५ प्रतिशत स्वास्थ्य सेवा क्षेत्रले ओगट्ने भएकाले अस्पतालले नवीकरणीय ऊर्जा प्रयोग गर्ने सो अवसरमा जानकारी दिइएकोछ । आँखा अस्पतालमा सौर्य प्यानलहरू स्थापना गरिएको र वातानुकूलित प्रणालीहरू प्रयोगमा रहेका छन् ।यसैबीच निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले निजगढमा आयोजना गरेको ३ दिने शिवीरमा ४५४ जना आँखाका बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । गत शनीवारबाट शुरु भएर मंगलवार सकिएको शिविरमा ४ हजार २ सय ३५ जनामा आँखाको परीक्षण गरिएको थियो । जसमध्ये ४५४ जनामा मोतियाबिन्दु फेला परेपछि अस्पतालकी चिकित्सक रिता गुरुङ्गको नेतृत्वमा रहेको ५ जनाको चिकित्सक टोलीले बिरामीहरुको आँखाको शल्यक्रिया गरेको हो ।


















