कलैया, आगामी निर्वाचनका लागि बाराको कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । यहाँको मुख्य निर्वाचन अधिकृतमा बारा जिल्ला अदालतका न्यायाधीश पुनेश्वरप्रसाद उपाध्याय आउने भएका छन् ।असोज २३ मा उम्मेदवार मनोनयनको समयसीमा तोकिएको छ । असोज १५ देखि २० गतेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित निर्वाचन क्षेत्रगत कार्यालय स्थापना गरिसक्नुपर्ने निर्वाचन आयोगले समयसीमा निर्धारण गरेको छ ।त्यसैअनुरुप मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले बताए । कार्यालय उद्घाटन समारोहमा सुरक्षा निकायका प्रमुखसहित जिल्ला समन्वय समितिका प्रमुख, दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।अरु बाँकी ३ वटा निर्वाचन क्षेत्रमा अहिलेसम्म कार्यालय स्थापना नभए पनि तोकिएकै समयसीमाभित्र स्थापना गरिने उनले बताए ।