बारा,बारा जिल्लामा प्रहरीले लागू औषध बिक्री वितरणमा संलग्न रहेको आरोपमा एक पोलिक्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा यम आर पोलिक्लिनिकका सञ्चालक राजेश साह कानु रहेको ईलाका प्रहरी कार्यालय बारागढीले जनाएको छ।प्रहरीले गोप्य सूचनाको आधारमा विशेष चेकजाँच अभियान सञ्चालन गर्दै बारागढी गाउँपालिका वडा नम्बर २, मलाही चौकस्थित यम आर पोलिक्लिनिकमा छापा मारेको थियो। छानबिनका क्रममा उक्त क्लिनिकबाट विभिन्न प्रकारका लागू औषध फेला परेपछि सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पोलिक्लिनिकबाट कोरेक्समह ५ बोतल,नाइट्राभेट४७ ट्याब्लेट, ट्रामोवेल २० ट्याब्लेट, लोरी ३ ट्याब्लेट, बुप्रिजेसिस ३ ट्याब्लेट र फेनरागन ३ ट्याब्लेट बरामद गरिएको हो ।

प्रहरीले राजेश साह कानुलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ । बारा प्रहरीले हाल पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा राखेर यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्यलाई समेत तीव्रता दिएको जनाएको छ ।

















