वीरगञ्ज,पर्सा जिल्लाको पोखरिया नगरपालिका–२ मननपुरस्थित बाँस घारीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ ।सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहका अनुसार खाने तेल राख्ने ग्यालेनभित्र लुकाएर बाँस घारीमा छोडिएको अवस्थामा २४ किलो ५०० ग्राम चरेस फेला परेको हो ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा गएको टोलीले बुधवार राति बाँस घारीमा बेवारिसे अवस्थामा राखिएको दुई वटा ग्यालेन बरामद गरेको थियो ।
ग्यालेन खोल्दा भित्र प्लास्टिकको प्याकेटमा प्याक गरिएको २४ किलो ५०० ग्राम चरेस फेला परेको हो । बरामद चरेस इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको र घटन सम्बन्धमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।


















