पुष्पराज खतिवडा
मनहर्वा,डिभिजन वन कार्यालय सिमराले १० थान सालको गोलाई सहित एक थान पिकअप भ्यान र मोटरसाइकल बरामद गरेको छ ।बुधबार बिहान ४ बजेको समयमा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ स्थित हलखोरिया साझेदारी वन क्षेत्रमा गस्ती गर्ने क्रममा सालका गोलाइसहित सवारी साधन बरामद गरिएको वन कार्यालय सिमराले जानकारी दिएको छ ।केही दिन अघिदेखि वन क्षेत्रबाट सालका वयस्क रुख कटान गरी चोरी तस्करी भइरहेको पाइएपछि नियमित गस्ती गर्ने क्रममा बा. प्रदेश ०१२७ च ०८४२ नम्बरको पिकअप भ्यानमा २ थान गोलाइ लोड भएको अवस्थामा फेला परेको हो ।घटना स्थलबाट तस्कर समुहले काठ ओसार पसारमा प्रयोग गरेको उक्त भ्यानसहित वन गस्ती टोलीले ना १९ प १५७३ नंं. होण्डासाईन मोटरसाइकल एक थानसमेत नियन्त्रणमा लिएको वन कार्यालयले जनाएको छ ।तस्कर समुहले २ थान बयस्क सालको रुख काटेर १० थान गोलिया बनाइ २ थान भ्यानमा लोड गरेको अवस्थामा काठसहित भ्यान बरामद गरिएको डिभिजन वन कार्यालय सिमराका प्रमुख डिएफओ विनोद सिंहले जानकारी दिनुभयो ।बरामद भएको भ्यान रौतहट गुजरा नगरपालिका वडा नंं. ३ बस्ने रवीलाल माझीको नाममा दर्ता कायम रहेको र काठ तस्करीमा उनकै संलग्नता रहेकाले उनको खोजी कार्य भइरहेको उहाँले बताउँनुभयो ।बरामद १० थाल सालको गोलाई १२०.१६ क्युफिट भएको र सोको हाल अनुमानित बजार मुल्य ४ लाख २५ हजार रहेको डिभिजन वन अधिकृत सिंहले जानकारी दिनुभयो ।यसैबीच डिभिजन वन कार्यालय सिमरा बाराले वन संबन्धी कसुरमा २७५ जना विरुद्ध मुद्दा चलाएको छ । अघिल्लो दुई वर्ष १० महिनाको अवधिमा ती व्यक्तिहरु उपर कारवाही चलाइएको हो ।काठ चोरी निकासी तथा हानी नोक्सानी मुद्दामा २४७ जना उपर मुद्दा दायर भई कारबाही प्रकृयामा रहेको छ । यस्तै ढुंगा गिटी ओसार पासारमा ९, वन्य जन्तु चोरी शिकारीमा १९ जना उपर मुद्दा रहेको डिभिजन वन कार्यालय सिमराले जनाएको छ ।उल्लेखित मुद्दामध्ये गत आवमा काठ चोरी निकासी तथा हानी नोक्सानीका ४० र वन्यजन्तु चोरी शिकारीका ३ गरी ४३ मुद्दा दर्ता भएका थिए । तर चालु आर्थिक वर्षको साढे १० महिनामा ३० वटा काठ चोरीका मुद्दा दर्ता भएको डिभिजन वन प्रमुख सिंहले जानकारी दिनुभयो ।


















