निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा पंखा हस्तान्तरण गरिएको छ । निजगढ नगरपालिका वडा नम्बर ७ को सहयोगमा विद्यालयलाई पंखा हस्तान्तरण गरिएको हो ।वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाको नेतृत्वमा वडाका जनप्रतिनिले विद्यालयलाई ६ वटा वाल पंखा हस्तान्तरण गर्नुभएको हो । वडा अध्यक्ष लामा सहित जनप्रतिनिधिले विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारलाई पंखा हस्तान्तरण गर्नुभयो ।

विद्यालयमा कक्षा १ देखि ४ सम्मका विद्यार्थी टिनको छाना भएको भवनमा अध्ययनरत रहेका र गर्मीका कारण पठनपाठनमा समस्या भइरहेको अवस्थामा विद्यालयलाई वडाको सहयोगमा पंखा हस्तान्तरण गरिएको वडा अध्यक्ष लामाले बताउनुभयो ।वडा कार्यालयले वडामा रहेको विद्यालयलाई सक्दो सहयोग गरिरहेको भन्दै विद्यालयको आवश्यकता र वडाको अवस्था अनुसार सहयोग अघि बढाउँदै लैजाने वडा अध्यक्ष लामाको भनाई छ । विद्यालयलाई पंखा सहयोग भएपछि विद्यार्थीलाई पठनपाठनमा सहयोग पुग्ने प्रधानाध्यापक स्वर्णकारको भनाई छ । आफुहरुले विद्यालयको भौतिक अवस्था सुधारका लागि विभिन्न निकायसंग समन्वय गर्दै अघि बढिरहेको उहाँको भनाई छ ।

पंखा हस्तान्तरण कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य भगवती घिमिरे, कविता लामा, शुभद्रा विक, विद्यालयका शिक्षक हरिशरण सुवेदी, किरण श्रेष्ठ, अम्बिका घिमिरे, कल्पना आचार्य, रुपेश भट्टराई शिक्षिका लगायतको सहभागिता रहेको थियो ।त्यसैगरी सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा निरन्तर विद्यार्थी मूल्यांकनका लागि अभिमूखिकरण गरिएको छ । हालै नगरपालिकाले प्रदान गरेको ५ दिने तालिममा सहभागी शिक्षिका कल्पना आचार्य र अम्बिका घिमिरेले विद्यालयका अन्य शिक्षक शिक्षिकाहरुलाई निरन्तर विद्यार्थी मूल्यांकन गर्ने विषयमा जानकारी गराउनुभएको थियो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारले कक्षा १ देखि ३ सम्म पाठ्यक्रमले तोके अनुसार सबै शिक्षकलाई मूल्यांकन गर्न आग्रह गर्नुभयो ।

यसैबीच वडा कार्यालयको सहयोगमा सत्यश्वर शिवशक्ति महादेव मन्दिरलाई बाद्यवादन र साउण्ड सिस्टम हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष लामा नेतृत्वको जनप्रतिनिधिको टोलीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी उप्रेती, कृतन समितिका अध्यक्ष रामानन्द प्रसाद साह, सचिव मुकन्द पौडेल लगायतलाई हस्तान्तरण गर्नुभएको हो ।

Leave a Reply