निजगढ,मदेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले असोज १२ गते मकावनपुर जिल्ला इन्द्रसरोवर गाँउपालिकामा पहिरोमा परी मृत्यु भएका प्रशिक्षार्थी खेलाडीहरुको परिवारलाई मधेस सरकारले यथासक्य राहत सहयोग उपलब्ध गराउने बताउनुभएको छ ।

मृतक खेलाडीहरुको सम्झनामा एन्फा बाराले सोमवार निजगढमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै मन्त्री जयसवालले सो कुरा बताउनुभएको हो । ‘देशको भविष्य बोकेका खेलाडीहरु गुमाउनुपर्दा अत्यन्तै दुःख लागेको छ, उहाँले भन्नुभयो, मधेस प्रदेश सरकारले पनि मृतक खेलाडीको परिवारमा सकेको सहयोग गर्ने छ ।’खेलकुदमन्त्री जयसवालले खेलाडीहरुको सुरक्षा गर्न सकिएमात्रै खेल क्षेत्रको विकास हुने बताउँदै मधेस सरकारले यस वर्षदेखि प्रदेशका खेलाडीहरुको बीमा गर्ने कार्यक्रम पनि संचालन गर्ने बताउनुभयो ।

कार्यक्रममा संघीय सासंद अच्युत प्रसाद मैनाली, प्रदेश सासंद मिना लामा, एन्फा मदेश प्रदेशका अध्यक्ष नेपाल कार्की, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, वडा नम्बर ८ का वडा अध्यक्ष सोनु लामा, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटवाल, स्थानीय राजनीतिक दलका प्रतिनिधि, एन्फा बाराका अध्यक्ष रामचन्द्र लामा, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोइरालालगायतस्थानीय खेलाडी र सर्वसाधारणले मृतक खेलाडीहरुको आत्माको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए ।निजगढ ८ का विकल रेग्मीसहित पहिरोमा परि मृत्यु भएका आदित्य बलम्पाखी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योन्जनको सम्झनामा एन्फाले सोमवार देशभरि नै दीप प्रज्वलन गरेको हो ।

Leave a Reply