अहिले नेपालको राजनीतिमा एउटा बहस भइरहेको पाइएको छ । विशेषगरी सदनमा एमाले र माओवादीका सांसदहरुकाबीचमा यो विषयमा बढी बहस भएको जस्तो देखिन्छ ।माओवादीले संचालन गरेको सशस्त्र संघर्ष जसलाई माओवादीहरुले जनयुद्ध भन्ने गर्दछन् । शुरुमा एमालेले भन्ने गरेको यो विषयमा केही कुरा गरौं– २०५२ देखि २०६२ सम्म माओवादी पार्टीका अध्यक्ष प्रचण्डको अगुवाईमा यो संघर्ष भयो र यसमा देशमा धेरै ठूलो हिंसा फैलियो र मानवीयसहित भौतिक क्षति भयो । माओवादीहरुले भनेको जस्तै यो कुरा संबिधानमा सशस्त्र संघर्ष भनेर उल्लेख गरिएको छ ।
तसर्थ, एमाले नेताहरुले भन्ने गरेको ‘हिंसा’ संबिधानसंगत छैन । र संबिधानतः यो संघर्ष हिंसा पनि ठहरिएन । अब अर्को कुरा गरौं, जब प्रचण्डसंग मिलेर एमालेले सरकार बनाइयो त जनयुद्ध पनि ठीक छ, प्रचण्ड पनि महान भए अनि माओवादी पनि प्यारो भयो । तर जब प्रचण्डसंगको सम्बन्धमा दरार आयो अनि त्यही सशस्त्र संघर्ष एमाले नेताहरुलाई मन परेन र हिंसात्मक संघर्षमा परिणत भयो । यो एमाले नेताहरुको तर्क ठीक होइन । जानेर वा नजानेर जे भएपनि यो संघर्षमा हजारौं सहभागी भए, धेरैको ज्यान पनि गएको छ । त्यसैको जगमा देश गणतन्त्रमा आएको हो ।
यो यर्थार्थ कसैले पनि भुल्न हुन्न ।हो, माओवादीले संचालन गरेको त्यो युद्ध ठीक थिएन । व्यक्ति हत्या अनि गरिबकै छोराछोरी नेपाली सेना र प्रहरीहरुको हत्या गर्ने, देशका महत्वपूर्ण भौतिक संरचनाहरु जथाभाबी ध्वस्त पार्ने जस्तो कार्यलाई जायज भन्ने कुनै आधार पनि छैन । यो क्रियाकलाप शाव्दिक रुपमा हिंसा नै थियो । तर, यसो भन्दैमा कम्तिमा एमालेका सांसदहरुले माओवादीले संचालन गरेको युद्धको विषयमा प्रश्न उठाउने अधिकार चैं छैन । हिजो आफूले पनि कथित झापा काण्डको नाउँमा व्यक्ति हत्या गरेको कुरा एमालेका नेताहरुले बिर्सन मिल्दैन ।त्यसैले जतिसुकै अप्रिय भएपनि कुनै न कुनै रुपमा राज्यले पनि स्वीकार गरिसकेको र इतिहाँस बनेको त्यो घटनाको बारेमा अनावश्यक वहस गरेर समय खेरफाल्नु राम्रो होइन ।
















