काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । महासभामा प्रधानमन्त्री शाहले भोटेकोशीको बाढी र त्यसले पु¥याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुहुनेछ ।

भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो । तर भदौ १० गते आएको बाढीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तनजन्य विपद‍्बाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री महासभामा जान लाग्नुभएको हो । यसैबीच आजको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन अर्थात् मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । यसले मिटरब्याजबाट पीडित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुला गरेको छ ।

त्यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा काठमाण्डौ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ गरी ५ वटा जिल्लाका गरिब घरपरिवारको सूची सरकारले स्वीकृत गरेको छ । यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ । यस्तै बैठकले २ जना सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ । मन्त्रिपरिषद्ले सहसचिव विनोदबहादुर कुँवरलाई सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ । अर्का सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिव पदमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ ।

Leave a Reply