राजन बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा पशुजन्य रोग देखापरेको छ ।किसानले पालेका गाई, गोरुलगायतका पशुहरुमा भाईरसबाट लाग्ने लम्पीस्किन रोग देखिएको हो । यो रोग लागेका पशुहरुको जिउभरी फोका जस्ता घाऊ देखापर्ने गरेको छ ।धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरका किसान उपेन्द्र पटेलले पालेको गाईलाई लम्पिस्किन रोग लागेको बताइएको छ ।गाउँघरमा यसरी एकाएक रोग देखापरेपछि स्थानीय पशुपालक किसान चिन्तित बनेका छन । संक्रमित पशुको सम्पर्कमा आएको अर्को पशुमा पनि सर्ने यो रोगका कारण स्थानीय धेरै किसानका चौपाय प्रभावित बनेका छन । स्थानीयका अनुसार यो रोगको प्रकोप भैंसीमा भन्दा गाईमा बढी देखिएको छ ।यो रोग लागेपछि जिउमा फोकाफोका घाउ हुने, उच्च जरो आउने, खाना नखाने, दुधमा कम दिने जस्ता लक्षणहरु देखिने गरेको छ । भाईरस रोग भएको कारण खासै उपचार नभए पनि समयमै लक्षण अनुसारको उपचार गरेमा पशुलाई सुरक्षित तुल्याउन सकिने पशुचिकित्सक मुरलीधर पाण्डेले बताउनुभएको छ ।



















