सिकेन्द्र साह
सिम्रौनगढ, १९ साउन– इलाका प्रहरी कार्यलय सिम्रौनगढअन्तरगत बेल्दारी चौकीका प्रहरीसंगको मिलिमतोमा केही भारतीय र नेपाली तस्करहरुले भारतबाट अवैधरुपमा कुखुराको चल्ला र लत्ताकपडा भित्र्याउने गरेको पाइएको छ ।
कोरेना भाइरस महामारीकाबीच पनि यस नाकाबाट प्रहरीको मिलिमतोमा भारतीय सामानहरुको तस्करी हुने गरेको हो । लामो समयदेखिको लकडाउन र हाल जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा आदेश उल्लंघन गर्दै बेल्दारी प्रहरीले केही ठुला व्यवसायीलार्ई तस्करीको लाइन खोल्दिएको छ ।
तस्कहरुले बेल्दारी प्रहरीसंग मिलेर रातको समयमा भारतबाट अवैधरुपमा मालसमान नेपालतर्फ भित्र्याउने गरेको स्थानीयले बताएका छन । सोही इलाकाअन्तरगत पर्ने पचरौता नगरपालिकाको गुलरिया चौकीका प्रहरीले पनि खुलेयाम तस्करीको लाइन दिदै आएका छन ।
सो नाकाबाट पनि तस्करहरुले भारतीय चल्ला नेपाल भित्र्याउने गरेको स्थानीयको भनाइ छ । प्रहरीको मिलिमतोमा खुल्लमखुल्ला हुदै आएको तस्करीको स्थानीयले विरोध गरेपछि ३ दिनअघि नियन्त्रणमा लिएको मध्ये केही चल्ला सर्वसाधारणलाई देखाउन प्रहरीले आइतबार नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र तामाङ्ग र असइ सिकिन्द्रको मिलिमतोमा सिमा क्षेत्रबाट अवैध कारोबार हुने गरेको स्थानीयले आरोप लगाएका छन । जिल्ला प्रहरी कार्यालयले भने प्रहरीको मिलिमतोमा तस्करी भइरहेको आरोप सत्य नभएको बताएको छ ।
सिमानाकाहरुमा प्रहरीले इमानदारीकासाथ कर्तव्य निर्वाहा गर्दै आएको कार्यालयको दावी छ ।