काठमाडौं । भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न तथा क्रिकेटका लागि आवश्यक पूर्वाधार विकासमा सहयोग गर्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा दुई देशबीच खेलकुद क्षेत्रको विकास र सहकार्य विस्तार गर्ने सहमति भएको हो।
भारतको राजकीय भ्रमणका क्रममा सार्वजनिक गरिएको ‘विकसित भारत र समुन्नत नेपाल स् साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त भिजन दस्तावेजमा नेपालमा राष्ट्रिय तथा प्रादेशिक स्तरका क्रिकेट पूर्वाधार निर्माणमा सहकार्य गर्ने उल्लेख गरिएको छ।
सम्झौताअनुसार नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीहरूमा तालिम लिने अवसरसमेत उपलब्ध गराइनेछ। यसबाट नेपाली क्रिकेट खेलाडीले अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण र अभ्यासको अवसर पाउने अपेक्षा गरिएको छ।
क्रिकेटबाहेक ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्सजस्ता खेलमा पनि दुई देशबीच प्रशिक्षण तथा सहकार्यका अवसर विस्तार गर्ने सहमति भएको छ। नेपालमा आधुनिक बहु–खेलकुद केन्द्र निर्माण गर्ने सम्भावनाबारे समेत दुवै देशले अध्ययन गर्ने भएका छन्।
त्यसैगरी, पर्वतीय खेलकुदको प्रवर्द्धनका लागि संयुक्त आरोहण अभियान सञ्चालन गर्नेलगायत सहकार्यका सम्भावना खोजिने दस्तावेजमा उल्लेख छ।
नेपाल र भारतका खेलाडीलाई एकअर्का देशका क्रिकेट, फुटबल तथा अन्य खेलका व्यावसायिक लिगमा सहभागी गराउने अवसर खोज्न पनि दुवै देशका सम्बन्धित खेलकुद निकायलाई प्रोत्साहन गरिने भएको छ।
यस सहकार्यले नेपाली खेलकुदको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

















