निजगढ,निजगढ नगरपालिकाले गत असोज १० गतेदेखिको अविरल वर्षापछिको बाढी, पहिरो र डुवानले नगर क्षेत्रभित्र भएको क्षतिको विवरण संकलन गर्ने भएको छ ।नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटाले सोमवार वडा कार्यालयहरुलाई फारमसहितको पत्र पठाएर तोकिए अनुसार क्षतिको विवरण संकलन गर्न निर्देशन दिनुभएको हो । पत्रमा क्षतिको यकिन विवरण संकलन गरेर ३ दिनभित्र बुझाउन वडा सचिवहरुलाई निर्देशन दिइएको छ ।
नगर क्षेत्रभित्र बाढी पहिरो र डुवानले क्षति भएको बाली, अनुमानित क्षति, क्षति भएको जमिनको क्षेत्रफल र क्षतिको प्रकार सम्बन्धि तथ्याङ्क संकलन गर्न पत्रमार्फत भनिएको छ ।कृषि ज्ञान केन्द्र बाराले बाढी पहिरो र डुवानमा परेर नगर क्षेत्रभित्र भएको क्षतिको विवरण माग गरेपछि कार्यालयले वडा कार्यालयहरुमार्फत विवरण माग गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताउनुभएको छ ।