कलैया,बारा प्रहरीले पाँच जना फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरीले अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीको सहयोगमा फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमा कलैया उपमहानगरपालिका वडा नम्बर १ निवासी ६७ वर्षीय मन्जु रहमान र ५७ वर्षीया मनोरमा (मासुमा) रहेका छन् । उनलाई जालसाजी मुद्दामा अदालतबाट २०० रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यस्तै, जालसाजीकै अर्को मुद्दामा अदालतबाट १० रुपैयाँ जरिवाना तोकिएकी ७३ वर्षीया शिवरानी (शिउतरनिया) थरूनीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी, वडा नम्बर ७ निवासी ५३ वर्षीय सरदकुमार उपाध्यायलाई १०० रुपैयाँ जरिवाना गरेको अदालतको फैसलापछि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको टोलीले सार्वजनिक अपराधमा पाँच सय रुपैयाँ जरिवाना पाएका ७७ वर्षीय सुकुट माझी मुसहरलाई पनि पक्राउ गरी जिल्ला अदालत बारा, कलैयामा बुझाएको छ ।प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार, पक्राउ गरिएका सबैलाई अदालतमा पेश गरिएको छ ।


















