कलैया,बारा क्षेत्र नं. ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्रीय उपसभापति रोशनकुमार अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नुभएको छ । आइतबार पार्टी अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले अधिकारीलाई पार्टीको ब्याच र टोपी लगाइदिँदै औपचारिक रूपमा पार्टीमा स्वागत गर्नुभएको हो ।

पार्टी प्रवेश कार्यक्रममा अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई धोका दिइरहेको आरोप लगाउनुभयो । उहाँले उक्त पार्टी जनमुखी नभई धनी वर्गको पक्षमा केन्द्रित पार्टी बनेको दाबी गर्दै जनताको वास्तविक मुद्दा उठाउन नसकेको पनि बताउनुभयो । साथै सामाजिक सञ्जालबाट मात्रै देश विकास सम्भव नहुने उल्लेख गर्दै व्यवहारिक काम र जनतामाझ गएर राजनीति गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले उज्यालो नेपाल पार्टी जनतामाझ बसेर, जनतासँगै काम गरेर अघि बढेको पार्टी भएको बताउँदै यही पार्टीमार्फत देशलाई उज्यालो बनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी जनआधारित नेतृत्व र कर्ममा विश्वास गर्ने पार्टी भएको बताउँदै देश परिवर्तनका लागि इमानदार र कर्मशील व्यक्तिहरूको सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो । अधिकारीको पार्टी प्रवेशले उज्यालो नेपाल पार्टीलाई थप सशक्त बनाउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको थियो ।


















