कृष्ण मोहन साह
सेढवा,सशस्त्र प्रहरीले पर्साको ठोरीबाट प्रतिबन्धित पटाका बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरबाट सशस्त्र प्रहरी निरीक्षक दिपक नापितको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको टोलीले नियमित चेकजाँचको क्रममा ठोरी गाउँपालिका वडा नम्बर ५ बाघमोर्चा पुलमा ठोरीबाट काठमाडौ जाँदै गरेको यात्रुवाहक बस रोकेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा उक्त बसबाट दुई सय प्याकेट पटाका बरामद भएको हो । भारतबाट अबैध रुपमा नेपाल भित्र्याएर काठमाडौं लैजानका लागि बसमा लोड गरिएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीले चेकजाँच गर्दा बसमा उक्त परिमाणको पटाका बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटर पर्साले जनाएको छ ।बरामद गरिएको पटाका स्थानीय भद्रभलादमी र सन्चारकर्मीको रोहवरमा बोर्डर आउट पोष्टको परिसरमा खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले बताउनुभयो ।
यसैबीच पर्साको जिराभवानी गाउँपालिकाबाट पनि सशस्त्र प्रहरीले भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा भारतीय ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपटीमा सशस्त्र प्रहरी निरीक्षक रमेश साखको नेतृत्वमा गएको सशस्त्र प्रहरीको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर १ गमहरिया गाउँबाट २० वटा ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको कुखुरा स्थानीय भद्रभलादमी, सन्चारकर्मी र नेपाल प्रहरीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो ।