मनोज शाह
जीतपुर,जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडियो) धर्मेन्द्रकुमार मिश्राले आफू जनताको सेवा गर्न आएकोले जिल्लावासीको हितमा प्रतिवद्ध भएर काम गर्ने बताउनुभएको छ ।कलैयामा आज पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । “हिजोको अवस्था अर्कै थियो, आजको अवस्था अर्कै छ, उहाँले भन्नुभयो, बारा जिल्लाबासीका लागि काम गर्न आएको हुँ, जनताको अपेक्षा अनुसार काम गरेर नै देखाउनेछु ।”
प्रजिअ मिश्राले कर्मचारीहरुले नागरिकप्रति समर्पित भएर सेवा संचालन गर्नुपर्नेमा जोड दिदै सरकारी कर्मचारीहरुको कार्य शैली पनि परिवर्तन आवश्यक देखिएको बताउनुभयो । उहाँले कर्मचारीहरुले व्यवहार परिवर्तन गरेर सेवा प्रवाहलाई प्रभावकारिता गर्ने÷गराउने कार्यको सुरुवात आफ्नो कार्यालयबाट गर्ने उहाँको भनाई थियो । कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्ने पनि उहाँले दाबी गर्नुभएको थियो ।

सरोकारवाला निकाय र जनप्रतिनिधिहरूसँग सहकार्य गर्दै जिल्लामा सुशासन, विकास, कानुन कार्यान्वयन र नागरिकलाई सहज सेवा उपलब्ध गराउनेतर्फ आफू सक्रिय हुने र बारा जिल्लालाई प्रशासनिक दृष्टिले उदाहरणीय जिल्लाको रुपमा स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।भेटघाट कार्यक्रममा बारा जिल्लाका विभिन्न सञ्चारकर्मीहरू, सुरक्षाकर्मी तथा प्रशासनका अधिकारीहरूको उपस्थिति रहेको थियो ।जिल्ला प्रशासन कार्यालय सुनसरीबाट हालैमात्र सरुवा भएर आउनुभएका प्रजिअ मिश्राले मंगलवारबाट कार्यालयमा पदभार ग्रहण गर्नुभएको थियो ।

















