बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो हेटौँडा–पथलैया सडकखण्डमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना।४ ख २३४९ नम्बरको डिजेल ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको ग।२ ख १९९३ नम्बरको ईभी हाइस ठोक्किएको थियो । त्यसपछि हाइसको पछाडि रहेको धरानबाट हेटौँडातर्फ जाँदै गरेको परीक्षण नम्बरको मोटरसाइकल पनि ठोक्किएको थियो ।
दुर्घटनामा ट्यांकर चालक जीतपुरसिमरा–१६ पिलुवाका ५० वर्षीय चेतनाथ खरेल, ईभी चालक पोखरा महानगरपालिका–५ का ३८ वर्षीय आशिष मल्ल, वीरगन्ज–२ की ४५ वर्षीया समिना खातुन र उनकी करिब २५ वर्षीया छोरी सखीना खातुन घाइते भएका छन् ।
त्यस्तै, जीतपुरसिमराकी २२ वर्षीया आशिका श्रेष्ठ, पोखरा–१८ साराङकोटका ४३ वर्षीय मनोज थापा क्षेत्री, धरान–१६ का २४ वर्षीय सरोज गुभाजु, भारत बिहारका ७० वर्षीय नवलकिशोर साह, बाराको प्रसौनी–२ का २४ वर्षीय कुनिल पण्डित कुम्हार र भारत पश्चिम बंगालको हुग्लीकी २६ वर्षीया साबनी दास पनि घाइते भएका छन् ।
घाइतेमध्ये केहीको हात, खुट्टा, टाउको र निधारमा चोट लागेको छ । प्रहरीका अनुसार सबै घाइतेको अवस्था सामान्य छ । उनीहरूको अमलेखगञ्जस्थित अक्कलबहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















