निजगढ,निजगढ नगरपालिका वडा नम्बर ११ मा बाघको आक्रमणबाट मंगलवार एक जना महिला घाइते भएकी छिन ।
बाघको आक्रमणबाट निजगढ ११ रतनपुरकी ४५ वर्षीय दिलकुमारी पुलामी मगर घाइते बनेकी हुन । घाइते मगरको छाती र पिठ्युँमा चोट लागेको छ । उनको हाल निजगढ सामुदायिक अस्पतालमा राखेर उपचार भइरहेको छ । मगरको अवस्था सामान्य हुदै गएको अस्पतालका चिकित्सक सतिश निरौलाले जानकारी दिनुभयो ।
निजगढ ११ स्थित तपोभूमि सामुदायिक वनमा गाउँका अन्य साथीहरुसँगै बाख्रा चराउन गएको बेला मगरलाई बाघले पछाडिबाट आक्रमण गरेको थियो । यता गाउँलेहरुलाई बाघले लामो समयदेखि दुःख दिदैआएपछि स्थानीयहरु त्रसित बनेका छन । घाइते मगरको श्रीमान भक्तबहादुरले बाघका कारण सर्वसाधारण असुरक्षित बनेको बताउनुभएको छ ।
बाघले महिलालाई आक्रमण गरेको सूचना पाएलगत्तै निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्ग घाइतेको अवस्था बुझ्न निजगढ सामुदायिक अस्पतालमा पुग्नुभएको थियो । नगरप्रमुख पुरीले आफूहरुले निकुन्जमा पटक पटक बाघको विषयमा खबर गरेको र सम्बन्धित ठाँउमा पत्राचार पनि गरेको बताउनु भएको छ ।
रतनपुरी क्षेत्रमा लामो समयदेखि बाघले चौपायमाथि आक्रमण गर्दैआएको भएपनि मान्छेमाथि नै आक्रमण गरेको भने यो पहिलो पटक हो । पछिल्लो २ महिनामा यस क्षेत्रमा बाघको आक्रमणबाट करीव ३ दर्जनभन्दा बढी चौपाया मरेका छन ।



















