रौतहट,रौतहट जिल्लाको बौधिमाई नगरपालिकास्थित शंकर माध्यमिक विद्यालयका विद्यार्थीहरुले नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् ।

विद्यार्थीहरुको समूहले शैक्षिक भ्रमणको लागि बजेट छुट्याउन माग गरे पनि नगरप्रमुख प्रदीप यादवले अटेर गरेको भन्दै कार्यालयमा तोडफोड गरेको जनाइएको छ । आफूहरुले बारम्बार माग गर्दा पनि रकम नछुट्याएको भन्दै आक्रोशित विद्यार्थीहरुले नगरपालिकामा राखिएको नगरप्रमुख यादव चढ्ने ना १ झ १६९३ नम्बरको सरकारी गाडी समेत तोडफोड गरेका छन् ।

विद्यार्थीहरुको ढुंगा प्रहारबाट गाडीको सबै सिसाहरु फुटेका छन् र जीप कुचिएको छ । विद्यार्थीहरुले नगरपालिका कार्यालयको झ्यालका सिसा, नगरपालिका परिसरमा राखिएका डोजर, मोटरसाइकल लगायतका सवारी साधनहरुमा पनि तोडफोड गरेको नगरपालिका कार्यालयले जनाएको छ ।

प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि ९ राउन्ड अश्रुग्याँस तथा ३ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । उहाँले विद्यार्थीको आक्रमणबाट बंकुल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुनिलकुमार यादव तथा सशस्त्र प्रहरीका ३ जना सुरक्षाकर्मी घाइते भएको बताउनुभयो ।

त्यसैगरी केही विद्यार्थीहरु पनि घाइते भएको बताइएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

नगरप्रमुख यादवले विद्यार्थीहरुले आफूलाई शैक्षिक भ्रमणको लागि रकम माग गर्न आएको स्वीकार गर्दै आफूले पनि नगर परिषद् हुने बित्तिकै रकमको व्यवस्था मिलाउने प्रतिबद्धता गरे पनि तोडफोडमा उत्रिएको बताउनुभयो । उहाँले गत शुक्रबार सो विद्यालय अनुगमनको क्रममा विद्यार्थीहरुले भ्रमणको लागि रकम माग गरेको र आफूले विद्यालयका प्रधानाध्यापकसँग बुझ्दा २ लाख भए पुग्ने जानकारी दिएको बताउँदै आफू त्यसमा सकारात्मक भएपनि विद्यार्थीहरु एक्कासी तोडफोडमा उत्रिनुले आफु आश्चर्यचकित बनेको बताउनुभयो ।

तोडफोडपछि नगरपालिका कार्यालयको अवस्था अहिले सामान्य हुँदै गएको र सो स्थान वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply